पिएसजी जित्यो पहिलो पटक च्याम्पियन्स लिग

भक्तपुर, जेठ १८
फ्रान्सेली क्लव पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिगको शनिवार राती सम्पन्न फाइनलमा पिएसजीले इटालियन क्लव इन्टर मिलानलाई ५–० ले हराउँदै पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलमा मजबुत नियन्त्रण बनायो ।
डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे । उनले मैदान प्रवेश गरेको ३ मिनेटपछि गोल गरेका हुन् । इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।
लुइस एररिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडेपछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको छ ।
पिएसजीले यसअघि सन् २०२० मा च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।