खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक

भक्तपुर, जेठ १८
खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतवार सार्वजनिक भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरी सार्वजनिक गरेको हो ।
नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यही दुई स्वर्ण पदक जित्दाको विषयलाई समावेश गर्दै वज्राचार्यले स्वर्णकथा नेपाली फुटबलको लेखेका हुन् ।
ती दुवै स्वर्ण पदक जित्दाका २ खेलाडी मध्येका एक हुन् शाक्य । अर्का सदस्य उमेश प्रधान अमेरिकामा बस्छन् । शाक्य छैटौं संस्करणमा टोलीको कप्तान नै थिए । उही शाक्यले पुस्तकको विमोचन गरेको हो ।
फुटबल इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि हुन् । सागको नवौं संस्करणबाट यु २३ टोलीले यसमा प्रतिस्पर्धा गर्छ । नेपाल १२ औं र १३ औं संस्करणको पनि विजेता हो । युवा टोलीले १२ औं सागमा स्वर्ण पदक जित्दा शाक्य त्यसको प्रशिक्षक थिए ।
नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भएपनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो नै पहिलो पुस्तक हो ।
लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन् । कान्तिपुर दैनिकमा आबद्ध खेल पत्रकार वज्राचार्य दुई दशक भन्दा लामो समयदेखि फुटबल रिपोर्टिङ गर्दै आएका छन् । बुकहिलले प्रकाशन गरेको सो पुस्तकको विक्री पनि सुरु भएको छ ।