नेपाल थाइल्याण्डसँग पराजित

भक्तपुर, जेठ १७
फिफा वरियतामा ५२ स्थान माथिको थाइल्याण्डसँग नेपाली महिला फुटबल टोली शुक्रवार १–० ले पराजित भएको छ । बलियो थाइल्याण्डसँग नेपालले दोस्रो हापमा गोल खाँदै पराजित हुन पुगेको हो । यो अनौपचारिक मैत्रीपूर्ण खेल हो ।
खेलमा घरेलु टोली थाइल्याण्डलाई नेपालले बलियो चुनौती पेश गरेको थियो । थाइल्याण्डमा क्लोज डोरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
नेपालले अब सोमवार थाइल्याण्डसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ । सो खेल भने फिफा विण्डो अन्तर्गत ओपन डोरमा औपचारिक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको रुपमा रहनेछ ।


यी दुई मैत्रिपूर्ण खेलको लागि व्यवसायीक लिग खेलिरहेका सावित्र भण्डारी (साम्बा) र रेखा पौडेल सीधै थाइल्याण्ड पुगेका थिए । कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पुजा राना भने नेपाल आएर थाइल्याण्ड गएका हुन् ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप खेल्न लागेको हो । छनोट मे ४ देखि सुरू हुनेछ । नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ ।
३४ टिमहरूलाई छ वटा समूहमा चार–चार टिम र दुई वटा समूहमा पाँच–पाँच टिम गरी विभाजन गरिएको छ । छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन् ।
आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन, कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन् ।