बागमती प्रदेशस्तरीय करातेमा सूर्यविनायक नगरपालिका प्रथम

भक्तपुर, जेठ ११
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिका प्रथम भएको छ । सूर्यविनायक ५ स्वर्ण र एक रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो भने काठमाण्डौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो ।
पुरुषतर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराते संघको आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए । सहभागी नगरपालिकाहरूमा मध्यपुर थिमि, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाण्डौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेललगायतका नगरपालिका र बागमती गाउँपालिकाको सहभागिता रहको थियो ।


प्रतियोगितामा पुरुषतर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्मको तौल समूहमा भएको थियो । साथै महिला–पुरुष व्यक्तिगत काता तथा टिम काता पनि समावेश गरिएको थियो ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू वल्र्ड कराते फेडेरेसन (डब्लुकेएफ), एसियन कराते फेडेरेसन (एकेएफ) र नेपाल कराते फेडेरेसन (एनकेएफ)को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कराते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा संघका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहनुभएको थियो । सूर्यविनायक नगरपालिकाको अग्रसरता, खेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो भने खेलको शुरुवात बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो । समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामा, सूर्यविनायक नगरापालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्रीको आतिथ्यतामा सम्पन्न भएको थियो ।