भक्तपुर, जेठ ८
हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।
उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधवार साँझ काठमाण्डौं महानगरपालिका–११, हनुमानस्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार र चौगुठीले एक सरकारी कर्मचारीलाई हनी ट्रयापमा पारी ५ लाखको बैंक चेक लिएका थिए । उनीहरुले ती सरकारी कर्मचारीसँग काठमाण्डौंमा एउटा घर वा चार आना जग्गा माग गरी ब्लाकमेल गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनुभयो ।
घटना विवरण अनुसार गत चैतमा ‘टिकटक गर्ल’को नामबाट एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । सुन्दर युवतीको तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै स्विकार गर्छन् ।
फेसबुकमा साथी बनेको एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ– हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन– हेल्लो । हाई–हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । ती सरकारी कर्मचारीले सहमति जनाउँछन् ।उनीहरूको ठमेलमा भेट्छन र कफी खाएर छुट्टिन्छन् ।
त्यसको एक सातापछि ‘टिकटक गर्ल’ले ठमेलमा खानपिन गर्ने प्रस्ताव गर्छन । ती सरकारी कर्मचारीले त्यसलाई स्विकार गरेर ठमेल पुग्छन । उनीहरुले खानासँगै मदिरा पनि पिउन थाल्छन । सरकारी कर्मचारीलाई बिस्तारै मदिराको नशा चढ्न थाल्छ । पिउँदापिउँदै सरकारी कर्मचारी अचेत हुन्छ । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।
करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो त्यसलाई पनि स्विकार गर्छन । फेसबुकमा साथी बनेको केही बेरमा सरकारी कर्मचारीको म्यासेन्जरमा ठमेलमा सँगै मदिरा पिएका युवतीसँगै अर्धनग्न अवस्थामा खिचेका फोटा, भिडिओ उनको म्यासेजमा आउँछ र काठमाण्डौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्ल्याकमेलिङ शुरु हुन्छ ।
‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।
त्यसपछि सरकारी कर्मचारको सम्पर्कमा दुई युवाहरु आउँछन । एक जनाले धम्काउने र अर्को सम्झाएर मिलाउने प्रयास थाल्छन । उनीहरुले सरकारी कर्मचारीलाई रकममा भए पनि केस मिलाउँ नत्र गाह्रो हुन्छ भन्दै फकाउँछन् ।
फोटा, भिडिओ सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउनेसम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् । र, केही सिप नलागेपछि सरकारी कर्मचारी बैशाख ७ गते बुधवार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ।
सरकारी कर्मचारीले प्रहरीलाई सबै घटनाक्रम सुनाउँछन । त्यसपछि प्रहरीको योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने प्रस्ताव गर्छन । ‘टिकटक गर्ल’ले सरकारी कर्मचारीको प्रस्ताव स्विकार गर्छन ।
सहमती अनुसार सरकारी कर्मचारीले चेक लिन टिकटक गर्ललाई काठमाण्डौं हनुमानस्थान बोलाउँछन । सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छन ।
अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले पक्राउ परेका टिकटक गर्ल तामाङ र चौगुठीले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको बताउनुभयो ।
प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने कार्यमा सहयोग गर्ने दुई पुरुषको पहिचान भएता पनि बिहिवार साँझसम्म पक्राउ परेको छैन ।
पक्राउ परेकामध्ये चौगुठी विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन् । उनीहरूले यस्तै शैलीमा अरुलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले कोही पीडित भए सम्पर्कमा आउन आग्रह गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाएको एसपी आचार्यले जानकारी दिनुभयो ।