भक्तपुर, जेठ ७
प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षिय आयुष गोले, सुनसरी घर भई काठमाण्डौँ नारायणटार बस्ने १८ वर्षिय रितेश राई, कास्की पोखरा महा–नगरपालिका–१ का १८ वर्षिय सुजन गुरुङ र रौतहट घर भई हाल नारायणटार बस्ने १८ वर्षिय अनिल तामाङ रहेका छन ।
यसैगरी मकवानपुर मनहरी–२ का १८ वर्षिय विक्रम तामाङ, मकवानपुर घर बताउने १८ वर्षिय अनमोल तामाङ र नुवाकोट त्रिशुली देउराली डाँडाका १८ वर्षिय कृष्ण तामाङलाई पनि स्कुटर चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
नेउपानेका अनुसार गत जेठ २ गते मध्यपुर थिमि–९ बाट बा. ५७ प. ९९५७ नं.को स्कुटर र गत जेठ ४ गते मध्यपुर थिमि–८, बोदेबाट बा. ७७ प. ३३५९ नं.को रातो रङको डिओ स्कुटर चोरी भएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले गत जेठ ५ गते सोमवार राती १० बजे ६ जना र जेठ ६ गते बिहान ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा. ५७ प. ९९५७ नं. र बा. ७७ प. ३३५९ नं.को रातो रङको डिओ स्कुटर समेत बरामद गरेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी नेउपानले बताउनुभयो ।