भक्तपुर, जेठ ६
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको मंगलवार उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्य अनुसार यस नगर अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसलहरु सञ्चालन गर्न दिन नहुने धारणा व्यक्त गर्दै उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरुको चर्चा गर्दै नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अन्य कार्यहरुको अतिरिक्त हरेक वर्ष एउटा नगर स्तरीय महत्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्य अनुरुप काम गर्दै आएको बताउनुभयो ।
स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह अधिकार सम्पन्न भएमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मान्यता रहेको बताउँदै उहाँले देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो भन्ने मान्यतालाई आत्मसात गर्दै जनप्रतिनिधिहरुको क्षमताले भ्याएसम्म भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्चप्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुर नरपालिकाका उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोग विना भक्तपुरको विकास सम्भव नभएको बताउँदै जनतालाई निर्वाचनको समयमा दिएको वाचा अनुसार भक्तपुर नपाले घोषणा पत्रलाई आधार बनाई काम गर्दै आएको बताउनुभयो ।
सहप्राध्यापक विश्व मोहन जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले धेरै उपलब्धीमूलक कार्यहरु गर्दै आएको बताउँदै भक्तपुर कृषि प्रधान नगर भएको हुँदा उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई जोड दिनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यान, एमआरआईजस्ता सुविधाहरु थप्दै लानुपर्ने सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप कलेज अफ इन्जिनियरिङमा स्थापनाकालदेखि हालसम्म २ हजार ७६९ विद्यार्थी भर्ना भई अध्ययन गरेकोमा हालसम्म १ हजार ५६४ विद्यार्थीहरुले अध्ययन पूरा गरिसकेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा फड्को मारिसकेको बताउँदै कम शुल्कमा गुणस्तरीय सेवा नै ख्वप अस्पतालको प्रतिबद्धता हो भन्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले ख्वप कलेज अफ ल सञ्चालन प्रारम्भ भएको ३ वर्ष अवधिमा वर्षको ६० जनाको दरले १८० जनाविद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै ल कलेजमा हाल ४२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो ।
ख्वप माविका प्रिन्सिपल लक्ष्मी प्रसाद कर्माचार्यले ख्वप मा.वि. को प्रगति प्रतिवेदन सुनाउँदै कलेज स्थापनादेखि हालसम्म २५ हजार ५३३ जना विद्यार्थीहरुले अध्ययन गरिसकेको र हरेक वर्ष रु. १ करोड ३० लाखभन्दा बढी रकम छात्रबृत्ति पनि वितरण गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु. ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तम प्रसाद मधिकर्मीलाई रु. ३ लाख, वडा नं. ५ कामनिषा साखलाई रु. १ लाख ४ हजार ५९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु. २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं. ५ का राधेश्याम तुल्सी बाख्योलाई रु. १ लाख २१ हजार १७०, वडा नं. ९ का शिव प्रसाद श्रेष्ठलाई रु. १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई रु. ३ लाख गरी कुल १४ लाख ७५ हजार १४४ रुपैयाँ रुपैंया बराबर काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।
साथै प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई र ३० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई कदर–पत्र र दीर्घ सेवा सम्मान गर्नुभयो ।