चौंधौं शताब्धीको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण

भक्तपुर, जेठ ६
भक्तपुर नगरपालिकाले करिव ७ सय वर्ष पुरानो लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण गरेको छ । गःहिटीस्थिती उक्त लक्ष्मीनरसिंह मन्दिर वि. सं. १९९० सालको महाभुकम्पले पूर्णरुपमा क्षती भएको थियो ।
१४ औं शताब्धीको उक्त मन्दिर भक्तपुर नगरपालिकाले ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि ७ करोड ७७ लाख लगत इस्टमेट पारित गरेको थियो ।
मन्दिरको मंगलवार उद्घाटन तथा शिलापत्र अनावरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन समेत सार्वजनिक गर्नुभयो ।


सो अवसरमा अध्यक्ष बिजुक्छेंले जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको बताउनुभयो ।
कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्प पूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौं सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै उहाँले ‘भक्तपुरको महत्वपूर्ण सम्पदा संरक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक हो,’ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर भव्य रुपमा पुनःनिर्माण हुनुले भक्तपुरबासीकै गौरव बढाएको बताउँदै ऐतिहासिक प्रमाणको अभावमा पनि भक्तपुर नगरपालिकाले यस मन्दिरलाई मौलिक स्वरुपमै पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले उपत्यकाका मौलिक शैली जीवित राख्ने अभियानमा भक्तपुर नपा पनि अग्रसर भएर लागिरहेको बताउनुभयो ।


भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन सँगै देशको आर्थिक विकासमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गर्दै विनासकारी भूकम्पले सम्पदामा क्षति पु¥याए पनि जनताले यसलाई पुनः पुरानै शैलीमा पुनःनिर्माण गर्नु पनि ठूलै उपलब्धी भएको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताउनुभयो ।
उहाँले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको बताउँदै सम्पदाहरुको समय सापेक्ष ढंगले जीर्णोद्धार र मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै उहाँले बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउनुभयो ।


लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणको काममा संलग्न हुन पाउनु आफैमा गौरवको विषय हो भन्दै लक्ष्मीनरसिंहको पुरानो मन्दिरको सीमित जानकारी बीच पनि अन्य मन्दिर अध्ययन अनुसन्धान गर्दै यसको प्राविधिक कार्य अगाडि बढाइएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगढबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटन पूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो ।