काँक्राबारीको अवैध प्लटिङले २२ रोपनी सामूदायिक वन अतिक्रमण गरेको निष्कर्ष

भक्तपुर, जेठ ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीमा निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले शुरु गरेको अवैध जग्गा प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको जग्गा र सामुदायिक वन अतिक्रमण गरेको पाईएको छ ।
प्लटिङ क्षेत्रमा नापी कार्यालय र डिभिजन वन कार्यालय भक्तपुरले गरेको स्थलगत अवलोकन एवम् नाप जाँचको प्रतिवेदनले उक्त अवैध प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको ६–७–०–० रोपनी जग्गा र २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरेको पाईएको हो ।
निक भुजिकिकले प्लटिङ्गको कार्य गर्दा सम्बन्धित निकायबाट कानून बमोजिम प्राप्त गर्नुपर्ने स्वीकृति प्राप्त नगरेको तथा सरकारी वन तथा सार्वजनिक जग्गा समेतमा डोजर लगाई अतिक्रमण गरेको भन्ने समेतको विषयमा प्राप्त गुनासो तथा सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु तथा सम्बन्धित विषयगत निकायका जिल्लास्थित कार्यालय प्रमुखको संयुक्त टोलीले गत बैशाख २१ गते स्थलगत निरिक्षण गरेको थियो ।
सोही क्रममा प्रजिअ गोपाल प्रसाद अर्यालले तत्कालको लागि प्लटिङको कार्य स्थगित गर्न निर्देशन दिएको थियो । साथै नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय र सूर्यविनायक नगरपालिका, डिभिजन वन कार्यालयलाई विना स्वीकृति जग्गा प्लटिङ्ग गरेको तथा वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण उपलब्ध गराउन, प्रचलित कानून विपरित भएगरेका सम्बन्धमा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाई ७ दिनभित्र सोको जानकारी जिल्ला प्रशासन कार्यालय, भक्तपुरलाई उपलब्ध गराउन गत बैशाख २४ गते पत्राचार गरिएको थियो ।
प्रजिअ अर्यालको निर्देशनमा नापी कार्यालय भक्तपुरले तयार गरेको प्रतिवेदनमा प्लटिङले कुलो, पर्ति, सार्वजनिक बाटो, सरकारी एवम् सार्वजनिक प्रकृतिको ६–७–०–० रोपनी जग्गा अतिक्रमण गरेको उल्लेख छ । यस्तै डिभिजन वन कार्यालयले २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरेको प्रतिवेदन बुझाएको हो
यसैगरी निक भुजिनिकले जग्गा प्लटिङ्गको कार्य गर्दा काठमाडौँ उपत्यका विकास प्राधिकरण, अनामनगरबाट स्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति प्राप्त गरी नसकेको व्यहोरा जिल्ला आयुक्तको कार्यालय, भक्तपुरको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सोमवार प्रजिअ अर्यालयको संयोजकत्वमा बसेको सर्वदलिय बैठकले वन क्षेत्रमा भएको अतिक्रमण मुक्त गर्नको लागि सम्बन्धित नापी कार्यालयबाट निर्धारण भए बमोजिमको सीमांकनमा पुनः अतिक्रमण हुन नसक्ने गरी सूर्यविनायक नगरपालिकाको रेखदेख तथा प्राविधिक सल्लाहमा मजबुत खालको घेराबार÷पर्खाल प्राविधिक हिसाबले जे उपयुक्त हुन्छ सो व्यवस्था निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले उक्त जग्गा प्लटिङ्गको कार्य भएको तल्लोपट्टि रहेको वस्ती समेतको क्षेत्रमा सो अनधिकृत प्लटिङ्गको कारण सिर्जित प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि मात्र मजबुत खालको पर्खाल समेतको उपयुक्त संरक्षण संरचना निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल निर्माण गरी तल्लो क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई आश्वत पार्ने कार्य गर्नुपर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
उक्त कार्यको अनुगमन प्रयोजनको लागि सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा वडा नं. ९ का वडाअध्यक्ष, जिल्ला आयुक्त कार्यालयका इन्जिनियर, डिभिजन वन कार्यालय, काक्राबारी भित्रि सामुदायिक वन उपभोक्ता समुह र स्थानीय बासिन्दाको प्रतिनिधि रहने अनुगमन टोली समेत गठन गर्ने निर्णय भएको प्रजिअ अर्यालले बताउनुभयो ।