सानोथिमि क्याम्पस स्ववियू अध्यक्ष ठगुन्नाले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

भक्तपुर, जेठ ४

सानो थिमि क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना क्याम्पस प्रमुख माधवकुमार श्रेष्ठको कार्यकक्षमा तोडफोड गरेका छन । गत जेठ २ गते क्याम्पसमा भएको झडको विषयमा छलफल गर्न र सिसि टिभी फुटेज हेर्न गएका स्ववियू अध्यक्ष ठगुन्नासहितको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको हो ।
ठगुन्नाको नेतृत्वमा रहेको ७÷८ जनाको समूहले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको सिसि क्यामराको मनिटर फुटाउनुका साथै सो मनिटर राख्ने टेबलसमेत तोडफोड गरेका छन ।
स्रोतका अनुसार गत जेठ २ गते स्ववियू अध्यक्ष ठगुन्ना र स्ववियू सचिव दिक्पाल कार्कीबीच हात हालाहाल भएको थियो । क्याम्पस हाताभित्र त्रिकेट खेल्ने क्रममा विवाद हुँदा स्ववियू सचिव कार्कीले ठगुन्नामाथि हातपात गरेको थियो ।
कार्कीको कुटपिटबाट ठगुन्नाको बाँया निधार सुनिएको, दाहिना हालमा भित्री चोट लागेको, टाउको पछाडी पनि चोट लागेको र दाँतबाट रगत बगेको थियो । ठगुन्नाको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भएको थियो ।


सोही घटनाको सिसि फुटेज हेर्न र क्याम्पस प्रमुखसँग छलफल गर्न ठगुन्ना ७÷८ जनाको समूह लिएर क्याम्पस प्रमुख श्रेष्ठको कार्यकक्ष पुगेका थिए । छलफलका क्रममा ठगुन्नाले जेठ २ गतेको सिसि टिभि फुटेज हेर्न पाउनु पर्ने माग राखेका थिए । तर क्याम्पस प्रमुखले सिसि टिभि बिग्रीएको बताएपछि आक्रोशित भएका ठगुन्नाको समूहले सिसि क्यामराको मनिटर फुटाउनुका साथै सो मनिटर राख्ने टेबलसमेत तोडफोड गरेको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार स्ववियू ठगुन्नालाई कुटपिट गर्ने कार्की समूह भने फरार छन । घटनाको बारेमा प्रहरीले छानविन गरिरहेको स्रोतले जानकारी दिएको छ । प्रहरीले कुटपिट र तोडफोड गरी दुई वटै घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत चैतमा सम्पन्न स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले गठबन्धन गरेका थिए । सोही गठबन्धनबाट अखिल क्रान्तिकारीका ठगुन्ना स्ववियू अध्यक्ष र नेविसंघका कार्की स्ववियू सचिवमा उम्मेदवार भई निर्वाचित भएका थिए ।