नक्कली कागजपत्र बनाउने गिरोह पक्राउ

भक्तपुर, जेठ १
सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई उनीहरूलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर काठमाण्डौंको तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन् ।
पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णकुमार आचार्यले बताउनुभयो ।


प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका समूहले काठमाण्डौ तारकेश्वर–७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात बनाउन र डिजाइन गर्नका लागि दुइ जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतले बताउनुभयो ।
उनीहरुले डिपेन्डेट भिसा प्रयोजनका लागि विवाहित प्रमाणपत्र समेत बनाई दिने गरेको खुल्न आएको छ । बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको साथै जापानमा विद्यार्थी भिसामा जानेहरुको लागि सहकारी संस्थाका कागजपत्र बनाएर कुरियर मार्फत जापान पठाइ दिने गरेको समेत खुल्न आएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको एसपी आचार्यले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न संस्थाको नाममा तयार पारेको शैक्षिक प्रमाणपत्र, सरकारी निकायका कागजपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमति पत्र, विवाहित प्रमाणपत्र, कम्युटर, ल्यावटप, स्ट्याम्पहरु बरामद गरेको जनाएको छ ।