लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

भक्तपुर, जेठ १
लागूऔषधसहित मध्यपुर थिमि नगरपालिका–६, सिद्धिकाली चोकबाट प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धिकालीमा डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का २३ वर्षिय दिनेश लामा र सर्लाही लालबन्दी नगरपलिका–१ का १८ वर्षिय सागर लामा रहेका छन ।
दिनेशले लागूऔषध विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिनेशको कोठामा खानतलासी गर्ने क्रममा लागूऔषध ट्रामानिल ४५१ पिस, १० एमजीको नेट्जाकेयर एक हजार १९० पिस, १० एमजीकै नेट्राभेट ७२ पिस, पोल्याण्ड भनी चिनीने लागुऔषध गाँजा जस्तो ८४० ग्राम, खैरो हिरोईन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम, मोबाइल २ वटा र नगद ७ हजार रुपैंया बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानले बताउनुभयो ।
सो सम्बन्धमा पक्राउ परेका दुवै जनालाई लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।