स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय क्रिकेट टोली घोषणा

भक्तपुर, बैशाख २७
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्रिकेटका नवनियुक्त मूख्य प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली शनिवार १५ सदस्यीय टोली घोषणा गरेका हो ।
टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । ज्ञानेन्द्र मल्ल कप्तान हुँदा दिपेन्द्र उपकप्तान थिए । क्यानले अनुशासनको कारवाही गर्दै तत्कालिन कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्रलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि क्यानले सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो । उनी जबरजस्ती करणी सम्बन्धी मुद्दाका कारण निलम्वनमा परेपछि क्यानले रोहितलाई कप्तान बनाएको थियो ।
टोलीमा विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् । अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।
क्यानले लिग–२ को सिरिजपछि हुने टि–२०आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् ।
नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल पनि रहेको छ । लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।