इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

भक्तपुर, बैशाख २४
इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको मंगलवार राती सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लव बार्सिलोनालाई ३–४ गोल अन्तरले पराजित गरेको इन्टर समग्रमा ७–६ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
यी दुई टोलीबीच बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । मंगलबार निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
खेलमा बार्सिलोनाले २ गोलले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै एक पटक अग्रता समेत बनाएको थियो । तर खेलको अन्त्यतिर गोल गर्दै बराबरी गर्न सफल इन्टरले अतिरिक्त समयमा १ गोल थप्दै जित निकाल्न सफल भएको थियो ।
खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । काउन्टर अट्याकमा डेन्जल डम्फ्रिजले अघि बढाएर दिएको पासलाई मार्टिनेजले सहजै गोलमा परिणत गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाउ कुबार्सीले मार्टिनेजलाई लडाएको देखिएपछि रेफ्री सिमोन मार्चिनियाकले पेनाल्टी दिएका थिए ।
दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।
८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनको पहिलो प्रहार गोलरक्षक सोमरले विफल पारेपनि रिवाउन्डलाई राफिन्हाले गोलमा परिणत गरे ।
इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । खेलको ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई उपाधि नजिक पुर्याए ।
बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन खेल्नेछन् । पहिलो लेग पिएसजीले १–० ले जितेको थियो । फाइनल मे ३१ मा हुनेछ ।