बालकुमारी साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार

भक्तपुर, बैशाख २१
मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको उत्कृष्ट सहकारीद्धारा पुरस्कृत भएको छ । बालकुमारीलाई भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.ले आ.व. २०८०÷०८१ को मध्यपुर थिमि नगरपालिका क्षेत्रको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान गरेको छ ।
संघको शनिवार सम्पन्न साधारण सभामा बालकुमारीलाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले बालकुमारीका अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
वि. सं. २०५७ साल असोज २ गते स्थापित बालकुमारी सहकारीलाई तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरले भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंक लि.ले उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिसकेको छ । साथै संस्थालाई सदस्यको आर्थिक जीवनकास्तरका विकासमा योगदान र सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरे बापत थुप्रै सामाजिक संघ संस्थाले सम्मानित तथा पुरस्कृत गरिसकेको संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले बताउनुभयो ।
स्थानीय २८ जना व्यक्तिहरुले ७ लाख शेयर पूँजी राखी शुरु गरेको समुदायमा आधारित सदस्यमैत्री बालकुमारी सहकारीको २०८२ वैशाख १९ गतेसम्म आईपुग्दा २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४ सय ८९ रुपैया कुल कारोबार रहेको छ भने शेयर सदस्य ५ हजार ९ सय १५ पुगिसेको छ ।
समय अनुसार व्याजदर समायोजन गर्दै आइरहेको बालकुमारीले सदस्यहरुलाई हाल सदस्य समृद्धि कर्जा ८ प्रतिशत, विभिन्न ऋण शिर्षकमा सुविधा ऋण ८.५ प्रतिशत (शर्त लागु हुने), बालकुमारी सुनौलो कर्जा ९.५ प्रतिशत ब्याज दरमा ऋण लगानी गर्दै आइरहेको अध्यक्ष तुईलाल श्रेष्ठले बताउनुभयो ।