स्वास्थ्य उपचारपछि सांसद थापा स्वदेश फर्किए

भक्तपुर, बैशाख २१
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा भारतको दिल्लीमा स्वास्थ्य उपचार पश्चात आइतवार स्वदेश फर्कनुभएको छ । उहाँ भारतको अपोलो स्पेक्ट्रा अस्पतालमा उपचारपछि स्वदेश फर्कनुभएको हो ।
सांसद थापाको अपोलो स्पेक्ट्रा अस्पतालमा बायाँ हिपको शल्यक्रिया गरिएको हो । लामो समयदेखी हिपको समस्याले झेलिरहनुभएका सांसद थापाको अपोलो अस्पतालमा डा. सुनिल टुलिको समूहले शल्यक्रियामार्फत हिप रिप्लेस्मेन्ट गरिएको हो । गत वर्ष उहाँको दाँया हिप रिप्लेस्मेन्ट गरिएको थियो ।
सांसद थापालाई आरामको खाँचो रहेकोले चिकित्सकले औपचारिक कार्यक्रमहरू सहभागिता नजनाउन सुझाव दिएको उहाँका स्वकिय सचिव शुभाषिस ढकालले जानकारी दिनुभयो ।
सांसद थापालाई नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेत, सहसचिव यादव प्रसाद अधिकारी, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापतिलगायतका नेता कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेका थिए ।