भक्तपुर, बैशाख २१
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि शनिवार २५ जनाको नाम घोषणा गरेको छ । क्यानले आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला तथा बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई छनोट गरेको हो ।
क्यानले पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले ती खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो । क्याम्पमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुअट लले २५ सदस्यीय खेलाडी छानेका हुन् ।
टोलीमा लामो समयदेखि लयमा नरहेका कुशल मल्ल र देव खनाललाई हटाएको छ । यस्तै युथ १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न सफल युवराज खत्रीलाई टोलीमा समावेश गरिएको छ ।
टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना रहेका छन ।
नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
क्यानका अनुसार आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको छ । ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग एकदिवसीय र टि–ट्वान्टी खेलहरू खेल्ने तालिका रहेको छ ।
नेपालले मे १६ मा शुक्रवारका दिन कार्डिफ विश्वविद्यालय विरुद्ध कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ । यसपछि मे १९ तारिखमा एमसीसी (मेरिलबोन क्रिकेट क्लब) विरुद्ध हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेल हुनेछ ।
भ्रमणको क्रममा मे २२ तारिखमा नेपालले एकै दिन ग्लोसेस्टरशायर विरुद्ध दुई टी–ट्वान्टी खेल खेल्ने छ । यसपछि नेपालले मे २६ तारिखमा ग्लामोर्गन विरुद्ध ग्लामोर्गनमै एकदिवसीय खेल खेल्ने तय भएको छ ।
तीन एकदिवसीय र दुई दुई टि ट्वान्टी खेल खेलेर नेपाल स्कटल्याण्ड जानेछ । आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले मे २९ र ३१ तारिखमा स्कटल्यान्डको ‘ए’ टिमसँग दुई एकदिवसीय खेल खेल्नेछ ।
यसपछि आइसिसी क्रिकेट वल्ड कप लिग–टु अन्तर्गत स्कटल्यान्डको सिरिजमा नेपालले स्कटल्यान्ड र नेडरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लिग टु मा नेपालले संघर्ष गरिरहेको छ । १२ खेलबाट ६ अंक बनाउँदै अंक तालिकाको सातौं स्थानमा रहेको छ । नवनियुक्त प्रशिक्षक स्टुवार्ट लको लागि नेपाली टिमसँग यो पहिलो भ्रमण हुनेछ ।