
भक्तपुर, बैशाख २०
बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले जितेको छ । नुवाकोटको बटारस्थित आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा शनिवार सम्पन्न फाइनलमा एपिएफले अर्को विभागिय क्लव नेपाल पुलिस क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
एपिएफको जितमा अनिता केसी नायक बनिन् । उनले खेलको इन्जुरी समयको अन्तिममा गरेको गोल नै निर्णायक बन्यो र एपिएफले उपाधि जित्न सफल भयो । निक्कै प्रतिष्पर्धात्मक खेलमा ७ मिनेटको इन्जुरी समय थप गरिएको थियो ।
उक्त इन्जुरी समयको छैंटौं मिनेटमा एपिएफले कर्नरको मौका पायो । कप्तान अनिता केसीले प्रहार गरेको कर्नरमा अनिता केसीले हेड गोल गर्दै एपिएफलाई उपाधि सदलाएको हो ।
एपिएफले गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि पुलिसलाई नै हराएर उपाधि जितेको थियो । एपिएफको यो वर्षको दोस्रो उपाधि हो । पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिगसहित ५ वटा उपाधि जितेको छ । लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो ।
एपिएफले मुख्यमन्त्री कपको उपाधिसहित ५ लाख र पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको सहयोगमा प्रतियोगिता बैशाख १३ गते सुरु भएको थियो । बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता थियो ।