भक्तपुर, बैशाख २०
मध्यपुर थिमिमा शनिवार १२ औं एनएमबी बैंक सम्पदा पदयात्रा गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा एनएमबी बैंकले नेपाल सम्पदा संघ र मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा उक्त सम्पदा पदयात्रा गरेको हो ।
पदयात्रामा मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरु अवलोकन गरिएको थियो । मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरूको संरक्षण र सम्वर्धन एवम् प्रचार प्रसार गरी पर्यटन उद्योगको विकास गर्ने उद्देश्यका साथ सम्पदा पदयात्रा आयोजना गरिएको हो ।
मौलिक बाजागाजासहित स्थानीय शंखधर चोकबाट शुरु भएको पदयात्रा बालकुमारी मन्दिर, लोकेश्वर मन्दिर, थिमि लायकु दरवार, दिगु भैरव मन्दिर, नगदेशको लाछिटोलस्थित सिद्धि गणेश मन्दिर, बोडेको भाँगु महालक्ष्मी मन्दिरहुँदैं बोदेको प्रसिद्ध जिब्रो छेड्ने जात्रास्थल पाचो गणेश मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका ७५० वटा भन्दा बढी मूर्त एवम् अमूर्त सम्पदाहरुको थप प्रचार प्रचार गरी यहाँ पर्यटन उद्योगको विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
विशेष गरी गत पुसमा सम्पन्न मध्यपुर महोत्सव पश्चात थिमिमा दैनिकरुपमा विदेशी पर्यटकको आगमन बढीरहेको चर्चा गर्दै उहाँले सम्पदा पदयात्राले पनि मध्यपुर थिमिमा पर्यटकको आगमनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय बासिन्दाहरुले पनि पर्यटन उद्योगको विकासका लागि होम स्टे सञ्चालन गर्ने र पर्यटकलाई आवश्यक हस्पिटालिटी विकास गर्ने योजनाहरु बन्दै गरेको जानकारी गराउनुभयो ।
विश्व सम्पदा संघका अध्यक्ष धर्म शाक्यले संघले हरेक साल विभिन्न संघसंस्थाहरु सँगको सहकार्यमा स्थानीय स्तरमा जनतालाई सम्पदा संरक्षण सम्बन्धमा जनचेतना अभिबृद्धि गराउने उद्देश्यका साथ कार्यक्रम गर्दै आइरहेको जानकारी गराउनुभयो ।
उहाँले पदयात्राको क्रममा मध्यपुर थिमिमा अद्धितिय र अनुपम सम्पदाहरु रहेको पाईएको चर्चा गर्दै यी सम्पदाहरुको प्रचार प्रसार गर्न सके यहाँ पर्यटन उद्योग फस्टाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो ।
एनएमबी बैंकका सञ्चालक बन्दना पाठकले मध्यपुर थिमि सम्पदाको दृष्टिले धेरै धनी शहर रहेको पाएको चर्चा गर्दै सम्पदाका कारण नेपाल गरिव नभएको जिकिर गनर््भयो ।
एनएमबी बैंकका कार्यकारी निर्देशक गोविन्द घिमिरेले यहाँको सम्पदाहरुको जानकारी सबैलाई दिन नसक्दा यसबाट हुने लाभ लिन नसकिरहेको बताउनुभयो । उहाँले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पनि आजको सम्पदा पदयात्रा सहायक सिद्ध हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा एनएमबी बैंकले नेपाल सम्पदा संघलाई ५ लाख रुपैंया र मध्यपुर थिमि नगरपालिकालाई सरसफाई सामग्री हस्तान्तरण गरिएको थियो ।
१८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाण्डौंको वसन्तपुर, ललितपुरको पाटन र भक्तपुरको भक्तपुर दरबार क्षेत्र, भक्तपुरकै चाँगुनारायण मन्दिर पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।