मध्यपुर थिमि नपाको आयोजनामा बैशाख २७ गते बासुरी बाजा प्रतियोगिता हुने

भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीमा जिल्लाव्यापी बासुरी बाजा प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले स्थानीय श्री सिद्धि गणेश दाफा भजन खलःको सहकार्यमा यही बैशाख २७ गते शनिवार उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको लागि बासुरी बाजा प्रतियोगिता मूल समिति गठन गरिएको समितिका संयोजक करन द्धारेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थितरुपमा सम्पन्न गर्न आर्थिक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, अतिथी सत्कार व्यवस्थापन उपसमिति, प्रचार प्रसार उपसमिति र निर्णायक मण्डल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
प्रतियोगितामा भक्तपुर जिल्लाका बासुरी बाजा खलः, गुठी, पुचः, समूह र संघ संस्थाहरुले भाग लिन सकिन्छ । प्रतियोगिताका लागि एक टोलीमा एक जना गुरु र १५ जना बाद्यवादन समूहको नाम दर्ता गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी टोलीलाई प्रस्तुतीका लागि २० मिनेट दिईने छ । उक्त २० मिनेट भित्र सहभागी टोलीले तयारी, वार्म अफ प्रस्तुती दिनुपर्ने छ भने निर्णायक मण्डलले दिएको एउटा धुनमा प्रस्तुती दिनु पर्नेछ ।
सहभागी हुने टोलीले कम्तीमा ५ वटा बोल दर्ता गर्नुपर्ने संयोजक द्धारेले बताउनुभयो । उक्त ५ वटा मध्ये एउटा वार्म अपमा र एउटा निर्णायक मण्डलको फर्माइसमा प्रस्तुती दिनुपर्ने छ ।
टोलीले प्रस्तुतीलाई विभिन्न विधामा मूल्यांकन गरी निर्णायकले दिएको अंकको आधारमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना विजेता घोषणा गरिने छ ।
प्रतियोगितामा विजयी टोलीले प्रमाण पत्र र आकर्षण शिल्डसहित नगद ६० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र, तृतिय हुने टोलीलाई नगद १५ हजार शिल्ड र प्रमाणपत्र, सान्त्वना स्थान प्राप्त गर्ने टोलीले प्रमाणपत्र र नगद १० हजार पुरस्कार प्राप्त गर्ने छ ।
स्थानीय कला संस्कृति, मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण गर्ने नगरपालिकाको उद्देश्य अनुसार बासुरी बाजामा युवाहरुको आकर्षण बृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।