रैथाने चरा संरक्षणमा मध्यपुर थिमि नगरपालिका

भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिकाले स्थानीय रैथाने चरा संरक्षण गर्ने प्रयासको थालनी गरेको छ । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण जनाउँदै सार्वजनिक स्थानमा चराको गुँड राख्ने कार्यको थालनी गरेको हो । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो ।
चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । “हाल दुई पोखरी लगायतका क्षेत्रमा नमूनाको रुपमा २५ वटा बासस्थान बनाइएको छ ,” श्रेष्ठले भन्नुभयो ।


चरा संरक्षण गर्ने अभियानमा नगरपालिकाको सदैव साथ र सहयोग रहने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । “नमूनाको रुपमा शुरु भएको गुँड बनाउने अभियान प्रभावकारी भए भविष्यमा हजारौं गुँड बनाइने छ,” उहाँले भन्नुभयो ।
चराले कीराहरू खाएर पर्यावरणमा सहयोग गर्ने मात्र नभई यसले वातावरणलाई पनि प्राकृतिक र मनोरम बनाउन मद्दत गर्ने भएकोले चरा संरक्षणमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
स्थानीय अभियन्ता र नगरपालिकाको यो प्रयासले अरु पालिकालाई पनि प्रेरणा मिल्ने र सदिऔ देखि मानिसको नजिक बस्ने बानी परेका चराहरु माथि न्याय हुने अभियन्ता बाबुकाजी श्रेष्ठले विश्वास ब्यक्त गर्नुभयो ।
आधुनिक घर निर्माण हुने क्रम बढेसंगै भंगेरा, गौथली, मैना र कौवा जस्ता चराहरुको लागि बासस्थान नासिदै गएकोले उनीहरूका लागि उपयुक्त बासस्थान अभियान चलाइएको अभियन्ता श्रेष्ठले बताउनुभयो ।