भक्तपुर, बैशाख १६
भक्तपुरको विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका–४, एसएस चोक र चाँगुनारायण नगरपालिका–७, हेल्मेटडाँडामा जुवातास खेलिरहेको अवस्थामा सोमवार १४ जनालाई पक्राउ गरेको हो ।
थिमि एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानले बताउनुभयो ।
यसैगरी चाँगुनारायण नगरपालिका–७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रनाउ नेउपानले बताउनुभयो ।