भक्तपुर, बैशाख १३
भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले शनिवार पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
प्रतियोगिता यही वैशाख १९ र २० गते दुई दिन भक्तपुरको जगातीमा हुने छ । दुई दिने प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने आयोजक किक बक्सिङ संघ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुषतर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिलातर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।
यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्षले जानकारी दिए ।
यस्तो किसिमको प्रतियोगिता भक्तपुरमा पहिलो पटक हुन लागेको बताउँदै उनले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने अपेक्षा गरिएको बताए ।
खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु. २ लाख सम्मको बिमा व्यवस्था गरेको सङ्घका सचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(धब्प्इ) द्वारा स्वीकृत प्–१ नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।