सूर्यविनायक नगरपालिकाले खानेपानी आयोजनाहरु खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने

भक्तपुर, बैशाख ११
सूर्यविनायक नगरपालिकाले नगरभित्र सञ्चालित सबै खानेपानी आयोजनाहरु काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मार्फत सञ्चालन हुने गरी काठमाण्डौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले गत चैत्र ३१ बसेको कार्यपालिका बैठकले नगरभित्र स्वायत्तरुपमा उपभोक्ताहरुले सञ्चालन र व्यवस्थापन गरिरहेका नगरपालिका क्षेत्रभरी सञ्चालित सबै खानेपानी आयोजनाहरुको सञ्चालन र व्यवस्थापन केएलकेयु मार्फत हुने गरी काठमाण्डौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले नगरभित्रको खानेपानी वितरण र व्यवस्थापनमा दोहोरो तेहोरो व्यवस्थापकिय जिम्मेवारीको अवस्था आउन नदिन यस्तो निर्णय गरेको जनाएको छ । सूर्यविनायक नगरभित्र केयुकेएलद्धारा व्यवस्थापन भइरहेको खानेपानी आपुर्तीको व्यवस्था मिलाउन निर्माण भएको सूर्यविनायक बृहत खानेपानी आयोजनाको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगी पानी वितरण गर्ने अवस्थामा रहेकोले खानेपानीको दोहोरो तेहोरो व्यवस्थापकिय जिम्मेवारीको अवस्था आउन नदिन तथा समस्त नगरवासीहरुलाई सहज र सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउन नगरपालिका, खानेपानी बोर्ड र केयुकेएलका प्रतिनिधिहरुबीच पटक पटक भएका बैठकको निर्णय अनुसार खानेपानी आयोजनाहरु खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो ।
उक्त निर्णय गर्नुअघि नगरपालिकाले नगरक्षेत्रका सरोकारवालाहरु र संघ तथा प्रदेश तहमा नगरपालिका क्षेत्रबाट प्रतिनिधित्व गरिरहनु भएका निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरेको लुईटेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको नयाँ निर्णयसँगै यसपूर्व नगरपालिका र केयुकेएलबीच खानेपानी व्यवस्थापनका लागि भएको सम्झौता समेत खारेज हुने छ ।
सूर्यविनायक नगरपालिकाभित्र तत्कालिन गाविसको बेला स्थापना भई सञ्चालनमा रहेका दर्जनौ खानेपानी उपभोक्ता समितिहरु रहेका छन । ती समितिहरुले डिप बोरिङ र लिफ्ट प्रणालीमा आधारित खानेपानी आयोजनाहरु सञ्चालन गरिरहेका छन । ती समितिहरुले खानेपानीको स्रोत व्यवस्थापन गरी उपभोक्ताहरुको घरघरमा खानेपानी वितरण गर्दै आइरहेका छन । ती मध्ये कतिपयले समयमा साधारण सभा र अधिवेशन नगर्ने तथा निष्कृय समेत रहेका छन ।
सूर्यविनायक नगरपालिकाका कतिपय वडाहरुमा खानेपानीको समस्या विकराल रहेको छ । उक्त समस्या समाधान गर्न नगरपालिकाले केयुकेएलको व्यवस्थापनमा रहेको मेलम्चीको पानी ल्याउन विभिन्न चरणमा छलफल गरी सूर्यविनायक बृहत खानेपानी आयोजना सञ्चालनमा आएको हो ।
अहिले उक्त आयोजना सम्पन्न भई पानी वितरणको चरणमा प्रवेश गर्ने बेला नगरपालिकाले नगरभरी सञ्चालित सबै खानेपानी आयोजनाहरु केयुकेएलमार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको निर्णयसँगै वडा कार्यालयहरुले वडाभित्र सञ्चालित खानेपानी उपभोक्ता समितिहरुलाई छलफलका लागि बोलाएको कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका सदस्य रमेश खड्काले जानकारी दिनुभयो ।
यसैबीच नगरभरी सञ्चालित सबै खानेपानी आयोजनाहरु केयुकेएलमार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने सूर्यविनायक नगरपालिकाको निर्णयको स्थानीय बासिन्दा र खानेपानी उपभोक्ता समितिहरुले विरोध गरेका छन ।
उनीहरुले नगरपालिकाको निर्णयले स्थानीय सरकार जनताको आधारभुत आवश्यकता परिपुर्ती गर्ने जिम्मेवारीबाट पन्छिएको आरोप समेत लगाएका छन । नगरपालिकाले खानेपानी उपभोक्ता समितिहरुसँग कुनै छलफल नै नगरी स्थानीय जनताको करोडौं लगानी र वर्षौदेखीको मेहनत रहेको खानेपानी आयोजनाहरु अर्को निकायलाई हस्तान्तरण गर्ने निर्णय गैरजिम्मेवारीपूर्ण रहेको जिकिर समेत गरेका छन ।
सो सम्बन्धमा नगर उपप्रमुख सरिता तिमसिना भट्टराई र प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलसमक्ष विरोध जनाइसकेको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुख भट्टराई र प्रमुख प्रशासकिय अधिकृत लुईंटेलले गोलमोटल जवाफ दिएका छन ।
उपभोक्ताले आफ्नो गाँस काटेर निर्माण गरेको खानेपानी आयोजना र जनताको करोडरौको सम्पत्ति नगरपालिकाको एउटा निर्णयका भरमा अन्य निकायलाई जिम्मेवारी दिन नसकिने उहाँले बताउनुभयो ।
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका सदस्य र उपभोक्ताहरू आफुहरूले दुःख गरेर जनताको घरदैलोमा बिहान बेलुकी सहज रूपमा ख्वाइ रहेको पानीमा कसैको गिद्धेदृष्टी परेको ठहर गरेर गर्दै छिट्टै उपभोक्ता भेला बोलाउने समितिले तयारी गरेको खड्काले बताउनुभयो ।