न्यूजअफ, ललितपुर, बैशाख २ गते ।
ललितपुरको माझखण्डस्थित माझखण्ड बुद्ध विहारमा अल्पकालिन रुपमा २०८१ चैत २० गतेदेखि २०८२ बैशाख २ गतेसम्म विभिन्न सिकाई एवं अभ्यासका अनुभवहरु संगाली चित्त परिशुद्ध पार्ने विधि सिकेर अल्पकालिन रुपमा “सतकुलपुत्र दुर्लभ श्रामणेर प्रव्रज्या”मा प्रव्रजित श्रामणेरहरु चीवर छोडेर आज गृहस्थी जीवनमा फर्केका छन् ।
विश्व शान्ति विहार एवं माझखण्ड बुद्ध विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले उक्त विहारमा हिजो आयोजित समापन समारोहका बीच श्रामणेर जीवनलाई छाडेर गृहस्थी हुन पाउँ भनी प्रार्थना गरेका अल्पकालिन नव श्रामणेरहरुलाई अनुमति दिनुहुँदै पञ्चशील प्रदान गर्नुभई गृहस्थी जीवनमा नै फर्काउनुभयो ।
उहाँले वल्र्ड बुद्धिष्ट अर्गनाइजेसनमा विश्व शान्ति विहार पनि आवद्ध रहेकाले अर्गनाइजेसनको घोषणापत्र अनुसार अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाउन गरिएको आव्हानले सतकुलपुत्र श्रामणेर प्रव्रज्या कार्यक्रम गरिएको बताउनुभयो । कहिँ कतै गल्ती भएको छ भने चित्त दुखेको, रीस उठेको छ भने एकापसमा क्षमा मागी रीस शान्त गर्न सकिने ओवाद दिनुहुँदै उहाँले अल्पकालिन समयावधिका लागि श्रामणेर प्रव्रज्यामा सहभागी हुनुभएका श्रामणेरहरुलाई सम्झाउनु भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि बागमती गाउँपालिका वडा ५ का वडाअध्यक्ष नवराज तिमिल्सिनाले आफू अध्यक्ष हुनु भन्दा अगाडिदेखि नै बुद्ध विहारलाई सक्दो सहयोग गरीरहेको र सहयोगलाई निरन्तरता दिइरहने वचन दिनुभयो ।
उक्त श्रामणेर प्रव्रज्यामा प्रव्रजित हुनुभएका काठमाण्डौ गुहेश्वरीका सुधीर कार्कीले उहाँले आफ्नो छोरालाई पनि सँगै प्रव्रजित गराउन ल्याएको र पछि घरमा जाँदा पनि कार्यक्रममा यी यी कुराहरु सिकियो भनी एकआपसमा छलफल गर्न पाइन्छ । त्यसैले आफ्ना नाता परिवारबाट पनि प्रव्रज्यामा सहभागीहरु बढाउनुपर्छ भन्नुभयो ।
त्यस्तै अर्का सहभागी भैंसीपाटी ललितपुरका नविन डंगोलले पनि बुद्ध शिक्षा बुबाले पनि सिक्न सकोस भनी सँगै प्रव्रजित गराउन ल्याएको पहिले पढेको र सुनेको कुराहरु माझखण्डमा आएर चंक्रमण गर्दै, जंगलमा गएर ध्यान गर्दा अनुभव पनि गर्न पाउँदा कतिपटक त भावविभोर समेत भएको स्मरण गर्नुभयो । उहाँले प्रव्रजित भई विहारमा रहँदा विभिन्न उमेर समूहका फरक फरक विचार र दृष्टिकोणका नवश्रामणेरहरुसँग मिली सामूहिक रुपमा काम गर्दा उहाँभित्र पनि कति क्लेशहरु रहेछ भनी हेर्न पाएको समापन समारोहमा सुनाउनुभयो ।
विश्वशान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकाय विहारको संयुक्त आयोजनामा चैत २० गते नाम दर्ता गरी नेक्खमी पारमीको अभ्यास गरी घरबार, आफन्तजन, साथीसंगी त्यागी नयाँ अनौठो र नौलो जीवनको शुरुवात गरेका ९ वर्षदेखि ८२ वर्षसम्मका नेपाली कुलपुत्रहरु दश पारमिताको अभ्यास गर्दै बैशाख २ गतेसम्म अल्पकालिन प्रव्रजित जीवन बिताई आ–आफ्ना घर फर्केका हुन् ।
पूर्ण जीवनकालमा प्रव्रजित हुन नसकेका वा नपाएकाहरु केही समयको लागि अल्पकालिन रुपमा भएपनि प्रव्रजित भई भगवान बुद्धले सिकाउनु भएको त्यागी जीवन बिताइ, उपेक्षा, मैत्री, करुणाको जीवनमा जिएर, भिक्षाटन वा दानबाट जीवन निर्वाह गरी भगवान बुद्धको शिक्षा शील, समाधि र प्रज्ञाको अभ्यास गरेका छन् । उनीहरुले आन्तरिक सौन्दर्य, मनको शान्ति प्राप्ती गर्ने मूलस्रोततर्फ कदम अघि बढाउने अभ्यास गर्न पाएका छन् ।
जसमा चैत २२ गते केश छेदन, २३ गते स्थानीय क्षेत्रमा भिक्षाटन, २६ गते अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाई दीप प्रज्वलन, २०८२ साल नववर्षको पूर्वसन्ध्यामा चैत ३१ गते रातको ८ बजेदेखि बैशाख १ गते बिहानको ४ बजेसम्म लगातार ध्यान भावना गरी, १ गते नै पुनः स्थानीय क्षेत्रमा भिक्षाटन गरेका छन् ।
समापन समारोहमा सहभागी श्रामणेरहरुलाई स्मरण पत्र, दाताहरु एवं सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षकत्वमा शाक्यसिंह विहारको सह आयोजना तथा प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा सो दुर्लभ प्रव्रज्या कार्यक्रमको आयोजना गरिएको हो ।