भक्तपुर, चैत्र २९
मध्यपुर थिमिको भुलाँखेलमा बिहिवार सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्यनाथ धिमे खलःको संयोजनमा सम्पन्न प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो । श्री राज गणेशले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सूर्यविनायक नगरपालिका–२ सिरुटारको श्री नासः धिमे खल दोस्रो हुन सफल भयो । श्री नासः धिमे खलःले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र प्राप्त गरे । यसैगरी मध्यपुर थिमिकै सिवा सायमी खलः तेस्रो र काभ्रेपलाञ्चोकको पनौतीस्थित नेवाः देय् दबूले सान्त्वना पुरस्कार प्राप्त गरे । सिवा सायमी खलःले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरे भने नेवाः देय् दबूले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगितामा विजयी खलःलाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताउनुभयो । उहाँले यहाँको बाजाहरुमा युवा पुस्ताको आकर्षण बढाउन वर्षेनी प्रतियोगिताहरु गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरुमा आलोपालो गर्ने योजना रहेको सुनाउनुभयो । यसैक्रममा आगामी बैशाख १३ गते वडा नं. १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी गराउनुभयो ।
उहाँले नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाई र पर्यटनको क्षेत्रमा उल्ल्ेख्य कार्य गरेको र यसैको मूल्यांकन गरी नगरपालिका संघले मध्यपुर थिमिलाई संस्कृति, पर्यटन र वातावरणमा नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेर पुरस्कृत गरेको बताउनुभयो ।
उहाँले नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहुउपयोगी बनाउने योजना अनरुप कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदैं पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको जानकारी गराउनुभयो ।