दीप प्रज्वलनका साथ माझखण्ड बुद्ध विहारमा अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो ।

सुनीता तुलाधर, ललितपुर, चैत २८ गते ।
विश्वशान्ति विहार एवं माझखण्ड विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले जापानको वल्र्ड बुद्धिस्ट सुप्रिम कन्फरेन्सको आयोजनामा भएको सम्मेलनको घोषणापत्र अनुसार अप्रिल ८ लाई अन्तर्राष्ट्रिय बौद्ध दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयो । सोही अनुसार ललितपुरको माझखण्डस्थित माझखण्ड बुद्ध विहारमा गत मंगलवार बालक सिद्धार्थको प्रतिमामा जलअर्पण, धर्मचक्र पाठ, ध्यान भावना र दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बौद्ध दिवसको मनाइएको छ ।
विश्व शान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकाय विहारको संयुक्त आयोजनामा मनाइएको बौद्ध दिवसमा नेपालका भिक्षुहरुलगायत थाईलाण्डका भिक्षुहरु एवं नवप्रवजित सतकुलपुत्र श्रामणेरहरु, गुरुमाहरु एवं उपासकउपासिकाहरु सम्मिलित भएका थिए ।
भिक्षु विनित महास्थविर एवं भिक्षु बोधिज्ञान महास्थविरले बालक सिद्धार्थको प्रतिमामा जलअर्पण गर्नुभएपछि उपस्थित भन्तेहरुले पनि प्रतिमामा जलअर्पण गर्नुभएको थियो ।
उक्त अवसरमा ओवाद दिनुहुँदै भिक्षु विनित महास्थविरले सो विहारमा अनेक प्रकारले पुण्य गर्ने सुअवसर पाएको नै बोधिज्ञान भन्तेको मेहेनतले हो भन्नुभयो । “उहाँको योगदानले आज हामी यो माझखण्ड विहार आएर दिनभरी अनेक प्रकारले पुण्यहरु गरी, पुण्य संचय गरी, आफ्नो मनलाई शान्त गरेर बसीरहेको समय हो” उहाँले भन्नुभयो ।
‘दीपदो होति चक्खुदो’ अर्थात दीप वा बत्ती नै आँखा हो । उहाँले बुद्ध धर्ममा दीप प्रज्वलनले ज्ञानको ज्योतिलाई इंगित गर्दछ । ‘घनसारा परीद्देन दीपेन तमधंसिना’ राग द्वेष मोहले अन्धकारमा परीरहेकाहरुलाई भगवान बुद्धको ज्ञानको ज्योतिले अन्धकार नष्ट गरीदिंदा सत्यलाई बोध गर्ने सुअवसर पाउँछ भन्नुभयो ।
थाईल्याण्डको धम्मकाय विहारबाट आउनुभएका भन्तेहरुले नेतृत्व गर्नुभई भगवान बुद्धले प्रथम पटक पञ्चवर्गीय भिक्षुहरुलाई धर्मदेशना दिनुभएको “धर्मचक्र पाठ” गरीएको थियो ।
विहारको नवनिर्मित अनागारिका भवनको कौसीमा धर्मचक्र पाठपछि भिक्षु, अनागारिका एवं उपासकउपासिकाहरुले केही समय ध्यान भावना पनि गरेका थिए । लगत्तै विहारप्रमुख एवं कार्यक्रम संयोजक भिक्षु बोधिज्ञान महास्थविरले भगवान बुद्धको अगाडि दीयो बाली दिवसको अवसरमा दीप प्रज्वलनको शुभारम्भ गर्नुभएको थियो ।
सबैजनाले दीयो बालेर दीयो हातमा लिई अनागारिका भवनबाट विहारको माथिल्लो तल्लामा अस्थिधातु रहेको चैत्यलाई परिक्रमा गरी पुनः अनागारिका भवनको कौसीमा फर्की दीप प्रज्वलनका साथ अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइएको थियो ।