मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसमा उत्कृष्ट कर्मचारी, करदाता, उपभोक्ता समितिदेखी ज्येष्ठ नागरिकसम्म सम्मानित (फोटो फिचरसहित)

भक्तपुर, चैत्र १४
मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा बिहिवार नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, ज्येष्ठ नागरिक र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरेको छ । साथै विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने नगरबासीहरुलाई पनि सम्मान गरेको छ ।
यसवर्ष मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक विकास महाशाखा प्रमुख तुलसी भक्त तकोलाई सम्मान गरेको हो । तको जागिरे जीवनको २४ वर्षमा तेस्रो पटक उत्कृष्ट कर्मचारी घोषित हुनुभएको हो । उहाँ पहिलो पटक २०६१ मा, दोस्रो पटक २०७७ मा उत्कृष्ट कर्मचारी घोषित हुनुभएको थियो ।
उहाँले यसवर्ष मौलिक स्थान नाम प्रतिस्थापन गर्ने, मध्यपुर महोत्सवलाई सफल बनाउन, नगरपालिकाको आन्तरिक राजश्व बृद्धिलगायतका कार्यमा गरेको योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा मध्यपुर थिमि वडा नंं ३, चारदोबाटो सुन्दरनगरस्थित जगदिश किराना पसल, उत्कृष्ट उपभोक्ता समितिको रुपमा शंखधर पार्क गुरु योजना निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको हो ।
यस्तै सामुदायिक विद्यालयतर्फ आदर्श मा.वि (सानो थिमि), संस्थागत विद्यालयतर्फ मातृभुमी स्कुल, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने ब्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ र सुजन बाग श्रेष्ठ, सगरमाथा आधार शिविर चढ्न सफल मध्यपुर थिमि ७ नगदेशका दुई जुमल्याहा दाजुभाई त्रिनेश कवाडी र त्रिजल कवाडी, नेवा आइडल सिजन २ गायन प्रतियोगिताका विजेता आश्रेय रन्जितलाई पनि सम्मान गरिएको थियो ।


यसैगरी प्रत्येक वडाबाट एक महिला र एक पुरुष गरी दुई÷दुई जना सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरु र सेवा निर्बित्त कर्मचारीहरु रामे खत्री, गंगा थापा, पुर्ण ज्योती शाक्य, कुमार पौडेल तथा हिरा काजीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा आवश्यक नरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको व्यवस्था संसारकै सुन्दर व्यवस्था भएकाले अर्को व्यवस्था आवश्यक नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ, न त व्यवस्था परिवर्तनको आवश्यकता न राजाको आवश्यकता छ, न त कुनै रानीको आवश्यकता । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ । त्यसकारण तपाईंहरु सबै राजा हुनुहुन्छ ।”
उहाँले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके अर्को पटकको चुनावमा उक्त प्रतिनिधि र दललाई जनताले स्वीकार नगर्ने बताउँदैं सबै जनप्रतिनिधिहरुले जनहितमा काम गर्न जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले एकथरी पार्टीहरू मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै काम गर्न कुनै वर्ष कुर्न नपर्ने टिप्पणी गर्नुभयो । उहाँले मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गर्नुभयो ।


नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर महोत्सव २०८१ को सफलताले नगरमा पर्यटन उद्योगको सम्भावना बढेको बताउनुभयो । उहाँले मध्यपुर महोत्सव देशकै नमूना साँस्कृतिक महोत्सव बनेको जिकिर गर्नुभयो । उहाँले महोत्सवपछि नगरमा कसरी दैनिक पर्यटक भित्र्याउन सकिन्छ भन्ने योजना निर्माणमा अघि बढाउने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको ९ महिनामा नगरपालिकाले डेढ किलोमिटर सडक कालोपत्रे, ढलान एक किलोमिटर, ढुंगा र ब्लक छपाई डेढ किलोमिटर, ढल बिच्छ्याउने डेढ किलोमिटर निर्माण सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
उहाँले सुशासन र पारदर्शी सेवा प्रवाहका लागि चालु आर्थिक वर्ष ऐन, निती नियम, कार्यविधि, निर्देशिका १९ वटा निर्माण भएको, सूचनाको हक प्रयोग गरी सूचना माग संख्या ३४ वटामा सबै माग बमोजिम सूचना उपलब्ध गराएको, हेलो सरकारमा मध्यपुर थिमि नगरपालिकाको कामकाजको विषयमा परेको उजुरी गुनासोको संख्या १५ वटामा सबै गुनासो र उजुरीको सुनुवाई भएको बताउनुभयो ।
उहाँले मध्यपुर थिमि स्वास्थ्यमा उत्कृष्ट भएको स्मरण गराउँदैं ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला, ख वर्गका अपांगता भएका व्यक्ति, दलित परिवार र दर्ता सहयोगी गरी २ हजार ७३३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको, २८३ जना बिरामीलाई ४६१ प्रिन्ट रगत उपलब्ध गराएको, सुत्केरी पोषण सामग्री वितरण ५६५, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति ५ हजारका दरले १८८ जना, विपन्न नागरिक औषधी उपचार वापत प्रतिव्यक्ति १ लाखका दरले ९६ जना, ज्येष्ठ नागरिक सुस्वास्थ्य कार्यक्रम अन्तर्गत १ हजार १ सय जना लाभान्वित भएको र पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रिनिङ १ हजार ३६ जनाको गरिएको बताउनुभयो ।


उहाँले विगतमा ७ करोड बिमाको रकम बाँकी हुँदा ९ महिना तलव खुवाउन नसकेको अवस्था रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अहिले २५ करोड भुक्तानी नहुँदा पनि समस्या नभएको बताउनुभयो ।
उहाँले चालु वर्ष नपा प्रशासकिय भवनको टेण्डर, वडा नं. २ को प्रशासकिय भवन निर्माण, थिमि लायकू दरवार मूल प्रवेशद्धार, नगदेश लायकू दरवार, बोडे महालक्ष्मी मन्दिर गरुयोजना, दिव्यश्वरी मन्दिर गुरुयोजना, बालकुमारी प्रवेश उकालो गुरुयोजना, करुणामय लोकेश्वर मन्दिर पुनःनिर्माण, निलबाराही मन्दिर संरक्षण तथा पहिरो नियन्त्रणका लागि टेण्डर प्रक्रिया, हात्ति महांकालमा शौचालय निर्माण, स्वंगा पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापति नगरपालिका संघले मध्यपुर थिमिलाई उत्कृष्ट घोषणा गरेकोमा सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदैं बाँकी कार्यकालमा थप नौलो र उत्कृष्ट कार्य गर्न सुझाव दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले नगरपालिकाले तत्काललाई भन्दा पनि भविष्यलाई सोचेर योजना बनाई कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र होइन यहाँको साँस्कृतिक पक्षको संरक्षण र जगेर्ना गर्न पनि जोड दिनुपर्ने बताउनुभयो ।


जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बादे बैद्यले मध्यपुर थिमि नगरपालिकाले साँस्कृतिक क्षेत्र, स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको चर्चा गर्नुभयो ।
बागमती प्रदेशका सांसद धनेश्वरी प्रजापति प्रदेशका विभिन्न निकायबाट मध्यपुर थिमि नगरपालिकामा विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशका अर्का सांसद भुवनकेशरी श्रेष्ठले मध्यपुर थिमि नगरपालिका आफ्नो मूलनारालाई आत्मसाथ गर्दै अघि बढेको बताउनुभयो । उहाँले मध्यपुर थिमिका एक पुस्ताले यहाँको कला सँस्कृतिका बारेमा जानकारी पाउन नसक्ने अवस्था बनेको अवस्थामा मध्यपुर महोत्सव आयोजना गरेर नयाँ पुस्तालाई मध्यपुर चिनाउन सफल भएको चर्चा गर्नुभयो ।
उहाँले अहिलेको जनप्रतिनिधिको टोलीले शिक्षा, स्वास्थ्य, कला सँस्कृति, वातावरण एवम् सरसफाईको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदैं त्यसैको कदर गरी नगरपालिका संघले वातावरण, सँस्कृति र पर्यटनमा देशकै उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले नगरका विभिन्न कार्यका बारेमा चर्चा गर्नुभएको थियो ।