भक्तपुर, चैत्र १३
एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूस्थित सुल्तान इब्राहिम रंगशालामा मंगलवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो ।
खेलको पहिलो हाफमा १–० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थप्दै २–० को जित निकालेको हो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् । उनी नेदरल्यान्ड्समा जन्मिएका हुन् । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
त्यसपछि नेपालले ४० मिनेट मलेसियालाई रोकेको थियो । तर, ७०औं मिनेटमा दोस्रो गोल खाएको हो । ला’भेरे कोर्बिन–अङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर बनाए । फ्रिकिकबाट सुरु भएको उत्कृष्ट सेटअप प्लेमा अरिफ आइमान हनापीले पास मिलाउँदै अङलाई अवसर दिलाएका थिए । जसमा उनले कुनै गल्ती गरेनन् । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।
जित सँगै मलेसियाले ३ अंक जोडेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० ले हराउँदै शानदार सुरुवात गरेको छ । होम एण्ड अवे खेलपछि समूहमा शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ ।