मलेसिया विरुद्ध नेपाल पहिलो हाफमा नेपाल १–० ले पछि

भक्तपुर, चैत्र १२
नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा मलेसियासँग पहिलो हाफमा पछि परेको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा जारी खेलमा घरेलु टोलीले १–० को अग्रता लिएको हो ।
मलेसियाको लागि खेलको २९औं मिनेटमा हेक्टर हेभलले गोल गर्दै अग्रता लिएको हो । हेभल पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हुन । मिडफिल्डर हेभेल मलेसियाले ‘हेरिटेज प्लेयर’का रुपमा भित्रयाएका नयाँ खेलाडी हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी अट्याकिङ मिडफिल्डर हुन् । उनले यू १६, यू १९ र यू २० डच टिमबाट खेलिसकेका छन् ।
उनीसँग नेदरल्यान्ड्स र साइप्रसको शीर्ष श्रेणीसँगै स्पेनको सेगुन्डा डिभिजन, चीनको लिग वान र पोर्चुगलको लिग २ खेलेको अनुभव पनि छ । यो सिजन पोर्टिमोनेन्सबाट पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका २८ वर्षीय उनी प्राविधिक रुपमा उत्कृष्ट छन् ।
उनी भर्सटाइल मिडफिल्डर हुन् । सेन्ट्रल र अट्याकिङ मिडफिल्डमा जम्ने गरेका उनी खेल नियन्त्रण गर्दै गोलका लागि सटिक पास उपलब्ध गराउन सिपालु छन् । उनको ट्रान्सफर मार्केटको मूल्य चार लाख ५० हजार युरो उल्लेख छ । उनै हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मलेसियाविरुद्धको खेलमा एक परिवर्तन गरेका छन् । प्रशिक्षक रसले शुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई आराम दिएका छन् । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई सुरुआती ११ मा समेटेका छन् ।
नेपालको शुरुवाती ११ मा किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजंघ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, लाकेन लिम्बू, आयुष घलान, मनीष डाँगी र रोहित चन्द रहेका छन ।
नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ । विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।
नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो ।