मोवाइलको विषयमा विवाद हुँदा कुटपिट, कुटपिटबाट मृत्यु, २ जना पक्राउ

भक्तपुर, चैत्र १२
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिमा गत फागुन २७ गते अचेत अवस्थामा फेला परेका युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षिय यादव पौडेल र सिन्धुली तीनपाटन गाँउपालिका–३ चकमकेका २४ वर्षिय अनिश तामाङ हुन ।
गत फागुन २७ गते मध्यपुर थिमि २, सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडक खण्डको सडक छेउमा एक युवक अचेत अवस्थामा फेला परेको थियो । प्रहरीले तत्काल उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाएकोमा त्यही उपचारको क्रममा ती युवकको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा मृतक युवक मध्यपुर थिमि–६ बस्ने ३२ वर्षिय लक्ष्मण खड्का रहेको खुल्न आएको थियो । सो घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंका अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा पौडेल र तामाङको कुटपिटले खड्काको मृत्यु भएको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानले जानकारी दिनुभयो ।
प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि–६ बस्ने ३२ वर्षिय लक्ष्मण खड्का, सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षिय यादव पौडेल र सिन्धुली तीनपाटन गाँउपालिका–३ चकमकेका २४ वर्षिय अनिश तामाङ चिनजानकै साथीहरु हुन । स्थायी काम नभएका तीनै जना सँगै मादकपदार्थ सेवन गर्ने पनि गर्दथे ।
केही हप्ता अघि पौडेलको मोवाइल लक्ष्मण खड्काले लिएर गएका थिए । पौडेलले मोबाइल फिर्ता माग्दा खड्काले दिन मानेका थिएन । यसैका विषयमा पौडेल र खड्काबीच बेलाबेलामा भनाभन र झगडा हुने गरेको थियो ।
गत फागुन २६ गते साँझ पनि खड्का, पौडेल र तामाङ तीनै जना सँगै मादकपदार्थ सेवन गरेका थिए । घर फर्किने बेलामा बाटोमा मोवाइलकै विषयमा पौडेल र खड्काबीच भनाभन भयो र पौडेलले खड्कालाई कुटपिट गर्न थाले । तामाङले झगडा नगर्न सम्झाउने प्रयास पनि गरेका थिए, तर सकेनन् । यस्तैमा पौडेलले खड्कालाई ढुंगाले प्रहार गरे । खड्का बेहोश भयो । खड्का बेहोश भएपछि पौडेल र तामाङ त्यहाँबाट भागे ।
भोलीपल्ट फागुन २७ गते बिहान झिसमिसेमा मर्निङवाकमा निस्किएका स्थानीयले एक व्यक्ति सडक किनारामा अचेत भई ढलेर बसेको देखेर प्रहरीलाई खबर गरे । प्रहरी तत्काल घटनास्थल पुगेर उनको उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगे । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं रिफिर गरी पठाए । ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भयो ।
उनको मृत्यु भएपछि प्रहरीले उनको हुलिया सार्वजनिक ग¥यो । प्रहरीले सामाजिक सञ्जालमार्फत मृतकको हुलिया सार्वजनिक गरेपछि मृतक आफन्त भएको दावी गर्दै केही व्यक्ति प्रहरी वृत्त थिमिको सम्पर्कमा आएका थिए । उनीहरुले नै मृतक खड्का भएको सनाखत गरेका थिए ।
पक्राउ परेका दुवै जनालाई भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रनाउ नेउपानले बताउनुभयो ।

थप विवरण प्राप्त भएपछि अपडेट गरिएको छ । सं.