निलबाराहीको जंगलमा १०० रुपैंयाको विवादमा हत्या, आरोपी पक्राउ

भक्तपुर, चैत्र १२
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पट नजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् ।
पक्राउ परेका बुढामगर राईसँगै कवाडीका सामान टिपि हिँड्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक सय रुपैंयाको लागि झगडा हुँदा बुढामगरले ढुंगाले हानेर राईको हत्या गरेको खुल्न आएको छ ।
“बुढामगरको एक सय रुपैंया राईले खोसेर लगेको रहेछ । सोही विषयमा विवाद भई झगडा हुँदा बुढामगरले ढुंगाले हानेको र राईको मृत्यु भएको देखिन्छ,” प्रहरी स्रोतले भन्यो ।
गत फागुन १० गते आइतबार बिहान करिव ६ बजे मध्यपुर थिमि–९, निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा राई मृत भेटिएका थिए ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गरेको थियो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरेका थिए । मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय वर्षीय ओम प्रकाश राई रहेको खुलेको थियो । ओमप्रकाशको आइतबार राति १२ बजेतिर हत्या भएको पाइएको छ । पक्राउ परेका हिमालले प्रहरी समक्ष उक्त कुरा बताएका छन् ।
प्रहरीका अनुसार शनिबार मात्रै ओमप्रकाशको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको समेत पाइएको छ ।
पक्राउ परेका हिमालले प्रहरी समक्ष आइतबारको साँझ दुबै जना मिलेर मदिरा सेवन गरेको बताएका छन् । त्यसपछि भेटी टिप्न भन्दै निलबाराही पिकनिकस्थल पुगेको बताएका छन् । भेटी टिपेर सुत्न जाने क्रममा भने १०० रुपैयाँको विवाद हुँदा हत्या भएको प्रहरीले बताएको छ ।