भक्तपुर, चैत्र १०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीमा आइतवार बिहान मृत भेटिएका खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राईको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
घटनास्थलमा रगत लतपतिएको ढुंगा फेला पर्नु मृतक राईको शरीरका विभिन्न भागमा चोट देखिनुले प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको हो ।
घटनास्थल नजिक शनिवार लामाहरुले पुजा गरेको र सोही पुजास्थलमा रहेको पैसा टिप्ने विषयमा विवाद भई राईको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । सोही अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीले बताउनुभयो ।
आइतबार बिहानै ५ः५५ बजेतिर बोदे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा राई मृत भेटिएका थिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप टोपी, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान ग¥यो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । राईका एक छोरा काठमाण्डौंमा पठाओ चलाउने गरेको र उनी आएर शव सनाखत गरेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीको भनाइ छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए । उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।