अपहरणको धम्की दिएको आरोपमा लोहकिल्थली बस्ने गुप्ता पक्राउ

भक्तपुर, चैत्र १०
अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा भक्तपुरको मध्यपुर थिमि १ लोहकिल्थली बस्ने सुदीपकुमार साह गुप्तालाई पक्राउ गरेको छ । सर्लाहीको धनकौला गाउँपालिका–२ घर भई भक्तपुरको लोहकिल्थली बस्ने गुप्तालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताउनुभयो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो । त्यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट चोरी तथा डाँका कसुरमा उनीविरुद्ध मुद्दा चलेको पाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।