भक्तपुर, चैत्र ९
वरिष्ठ पत्रकार, प्रजातन्त्र सेनानी एवम् राजनीतिज्ञ माथवरसिंह बस्नेतको ७८ वर्षको उमेरमा शनिवार निधन भएको छ । गत बिहिवार राती मष्तिष्कघाटबाट पिडित बन्नुभएका उहाँको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौंमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक–८ सिपाडोलस्थित निजी निवासमा अचानक लडेर अचेत भएपछि उहाँलाई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगिएको थियो । मध्यपुरबाट थप उपचारका लागि अन्नपूर्ण लगिएको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो ।
बस्नेत पुनर्जागरण साप्ताहिकको प्रकाशक र सम्पादक भएर लामो समय पत्रकारितामा क्रियाशिल हुनुहुन्थ्यो । विशेष गरी उहाँले प्रजातन्त्रको पक्षमा आफ्नो पत्रकारितालाई केन्द्रीत गर्नुभएको थियो । पञ्चायतकालमा पुनर्जागरण साप्ताहिक प्रजातन्त्र पुर्नप्राप्तीको आन्दोलनको लागि उचित खुराकको रुपमा रहेको थियो ।
पत्रकारिता जीवनमा उहाँले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको अध्यक्षको रुपमा कार्य गर्नुभएको छ । उहाँ पछिल्लो समय देशान्तर साप्ताहिकमा नियमितरुपमा लेख लेख्दै आइरहनुभएको थियो ।
उहाँ प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा समेत हुनुहुन्थ्यो । २०१७ सालदेखि राजनीतिमा संलग्न बस्नेत प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनहरूमा सहभागी हुनुहुन्थ्यो । नेपाली कांग्रेसमा आवद्ध भएर उहाँ लामो समय प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय हुनुभएको थियो । सोही क्रममा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । वि. सं. २०४६ सालको जनआन्दोलनको सफलताले प्रजातन्त्र पुनःस्थापना भएपछि उहाँ जेलमुक्त हुनुभएको थियो ।
कांग्रेसका संस्थापक मध्येका एक कृष्णप्रसाद भट्टराईको सामिप्यतामा रहेर काम गर्नुभएका बस्नेतले जननायक विपि कोइराला, लौह पुरुष एवम् सर्वमान्य नेता गणेशमान सिंहसँग पनि नजिक भएर काम गर्नुभएको थियो ।
कृष्ण प्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री बन्नु हुँदा बस्नेत प्रेस सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । बस्नेतले सर्वमान्य नेता सिंहको जीवनी पनि लेख्नुभएको छ ।
बस्नेतको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि पशुपतिमा दिउँसो साढे एक बजेसम्म राखिएको थियो । त्यसपछि पशुपति आर्यघाटको एक नम्बर घाटमा उहाँको विधिवत अन्त्येष्टि गरिएको कांग्रेस भक्तपुरका सचिव बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतको पार्थिक शरीरमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भक्तपुर जिल्ला सभापति एवम् सांसद दुर्लभ थापाले पार्टीको झण्डा ओढाई सम्मान गर्नुभएको थियो ।
बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेल, सांसद रघुजी पन्त, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, प्रहरी महानिरिक्षक दिनेश थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झपेन्द्र भुसाल, नेपाली कांग्रेस भक्तपुरका विभिन्न तहका पदाधिकारी एवम् नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुग्नुभएको थियो । बस्नेतका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
बस्नेतको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यबहाक सचिव डा. प्रदीप पराजुलीले शनिवार शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनप्रति सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गरेको जनाएको हो । यसैगरी बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।