जिलेस्पीको गोलमा सिंगापुर माथि नेपालको ऐतिहासिक जित

भक्तपुर, चैत्र ७
नेपालले फुटबलमा सिंगापुर माथि ऐतिहासिक जित निकालेको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आज (शुक्रवार) राती सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दायाँ विंगबाट दिएको लो पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए । जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो ।
त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।


एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन् । ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो । त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो ।


सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो । तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं स्थानमा) रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो ।
प्रशिक्षक म्याट रसको पहिलो अधिकारिक खेलमा नेपालले विजयी सुरुवात गरेको हो । रसले आफ्नो डेब्यु खेलमा युवा मिडफिल्डर सुबास बम ठकुरीलाई पनि डेब्युको अवसर दिए ।


योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा भिएतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ ।
सिंगापुरको समूहमा भने भारत, हङकङ र बंगलादेश छन् । सिंगापुरले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।