भक्तपुर, चैत्र ७
मध्यपुर थिमि नगरपालिका वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा बिहिवार मध्यपुर थिमि नगरपालिकालाई वर्ष २०८०÷०८१ को वातावरण, सँस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान गरेको हो ।
‘हाम्रो कला हाम्रो संस्कृती, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने नारा आत्मसाथ गर्दै अघि बढेको मध्यपुर थिमि नगरपालिकाले कला सँस्कृतीको जगेर्ना, वातावरणीय संरक्षण र उत्थानशीलतामा बहुआयामिक दृष्टिले परिवर्तनीय अभ्यास गरिरहेकोले यसवर्षको वातावरण, सँस्कृति र पर्यटन शिर्षकमा ८० प्रतिशत अंक हासिल गरी उत्कृष्ट नगरपालिका बन्न सफल भएको हो ।
मौलिक कला संस्कृती र सम्पदा, वातावरणमैत्री स्थानीय शासन, जलवायु उत्थानशील योजना, जलाधार क्षेत्र, जैविक पोखरीहरुको संरक्षण, फोहोर मैला र ढलको उचित व्यवस्थापन, ढल रहित मनोहरा करिडोर निर्माण, सडकको सौन्दर्यकरण, खानेपानी तथा सरसफाई सेवामा प्रविधिको प्रयोग, वोटानिकल बगैंचा, हरियाली उद्यान, पर्यटन क्षेत्र बिस्तार र प्रवद्र्धन, सरसफाई गुरुयोजना निर्माण तथा कार्यान्वयन, मठमन्दीर, इनार ढुंगेधारा, पाटी पौवा जस्ता साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, नगरको मौलिकता र सौन्दर्यताको सम्वद्र्धन जस्ता पाटोमा मध्यपुर थिमि नगरपालिकाले उल्लेख्य कार्य गरिरहेको संघको मूल्यांकनमा उल्लेख छ ।
हालसम्म बनेको योजना, गरेको अभ्यास र देखिएका परिणामले मध्यपुर थिमि एउटा पूर्ण वातावरण मैत्री सफा र हराभरा साँस्कृतिक नगरको रुपमा विकास भइरहेको आभास गर्न सकिने संघले जनाएको छ ।
संघको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा शहरी योजना तथा पूर्वाधार विकासमा सिद्धार्थ नगर नगरपालिका, सामाजिक विकासतर्फ कलैया उपमहानगरपालिका बारा कलैया, संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा ठाकुरबाबा नगरपालिका, स्थानीय आर्थिक विकासमा गैडाकोट नगरपालिका नवलपरासी र घोडाघोडी नगरपालिका कैलाली देशकै उत्कृष्ट नगरपालिका घोषित भएका छन । उत्कृष्ट सबै नगरपालिकालाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभयो ।
संघले नगरपालिकाहरुको मूल्यांकनका लागि एक सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले विभिन्न मापदण्डहरुलाई सुक्ष्म ढंगले मूल्यांकन गरी सिफारिस गरेको आधारमा उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताउनुभयो । उहाँले नेपाली जनताको लामो संघर्ष र वलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो ।
“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’’, उहाँले भन्नुभयो, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्षित गर्दै राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका उत्कृष्ट घोषणा भएपछि प्रतिक्रिया दिँदैं मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यो उपलब्धी सबैको साझा प्रयासबाट सम्भव भएको बताउनुभयो । उहाँले कुनै पनि योजना कार्यान्वयनमा योजना निर्माता, कार्यान्वयन गर्ने निकाय र सरोकारवाला सबैको उत्तिकै महत्वपूर्ण जिम्मेदारी हुने बताउँदैं यो उपलब्धी हासिल गर्न योगदान दिने सबैलाई आभार व्यक्त गर्नुभयो ।