बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित

भक्तपुर, चैत्र ५
शहिद स्मारक बी डिभिजन लिगमा भक्तपुरको मध्यपुर युथ एशोसियसनले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार सम्पन्न रोमाञ्चक खेलमा मध्यपुरले झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा पहिलो जित निकालेको हो । मध्यपुरले पहिलो खेलमा टुसाल युथ क्लवसँग बराबरी खेलेको थियो ।
जितसँगैं मध्यपुरको दुई खेलबाट चार अंक भएको छ । झापाको भने यो लगातार दोस्रो हार हो । मध्यपुरलाई जित दिलाउन सजिन थापामगरले एक गोल गरे भने अर्को आत्मघाती गोल भएको थियो । झापाका लागि पुजन राईले एक गोल गरे ।


खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । खेलको ५१ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । यो गोलमा मध्यपुरले १–० को अग्रता बनायो ।
मध्यपुरका कप्तान राहुल खड्काले रिबाउन्डमार्फत आएको बललाई झापाको पेनाल्टी बक्सबाट प्रहार गरेका थिए । उक्त बललाई बचाउने प्रयास गर्दा पेमालाई ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो ।


खेल सकिन एक मिनेट बाकी छँदा पुजन राईले गोलकिपरलाई बिट गर्दै गोल गरे र खेल १–१ को बराबरीमा पु¥याए । इन्जुरी समयमा सजिन थापा मगरले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । यही गोल निर्णायक बन्दा मध्यपुरले नाटकीय शैलीमा २–१ को जित दर्ता गर्यो ।


खेलमा निर्णायक गोलकर्ता सजिन प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गरे । मध्यपुर युथले खेल जिते वापत २५ हजार रुपैंया खेल विजेता पुरस्कार प्राप्त गरे ।