२५ करोड रुपैंया बराबरको अवैध विदेशी मुद्रा सहित एक जना पक्राउ

भक्तपुर, चैत्र ५
प्रहरीले नेपाली २५ करोड रुपैंया बराबरको अवैध अमेरिकी डलर र युरोपियन युरोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–२ बस्ने ४३ वर्षि फुच्चे भन्ने कुसाङ लामा हुन ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सोमवार राती ९ बजे टोखा नगरपालिका २ झोरबाट पक्राउ गरिएको हो । प्रहरीले अवैध विदेशी मुद्रा लुकाउन प्रयोग गरिएको कन्टेनर ट्रक समेत नियन्त्रणमा लिएको छ ।


ठुलो परिमाणमा अमेरीकी डलर र युरो लगायतका विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसारपसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले लामालाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनुभयो ।
“गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झोरमा ना ७ ख १६५२ नं.को मालबाहक कन्टेनर ट्रकमाथि शंका लागि नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनट’ ड्राईभर बस्ने कोठा (क्याविनको बायाँ तर्फ)को माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन नियन्त्रणमा लिएको हो,” एसी आचार्यले भन्नुभयो ।


प्रहरीले लामाको साथबाट अमेरीकी डलर १०० दरका ३ हजार ११९ थान र ५० दरका १७९ थान गरी कुल ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको आचार्यले बताउनुभयो ।
यसैगरी ५ सय दरका ११ हजार थान, २ सय दरका ४८० थान, एक सय दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान युरो प्रहरीले बरामद गरेको छ । प्रहरीले लामाको साथबाट मोवाइल २ थान समेत बरामद गरिएको आचार्यले जानकारी दिनुभयो । प्रहरीका अनुसार लामाको साथबाट बरामद भएको डलर र युरो नेपाली २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैंया बराबरको रहेको छ ।
प्रहरीले उक्त रकम कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । लामा उक्त रकम बोकेर रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


पक्राउ परेका लामालाई अवैध तरिकाबाट भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोवार गरेको कसुरमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको आचार्यले बताउनुभयो ।
अनुसन्धानको क्रममा लामा यसअघि २०७३ साल पौष १३ गते ७ किलो सुन तस्करीमा पक्राउ परी ५ वर्ष कैद भुक्तान गरेको व्यक्ति भएको खुल्न आएको आचार्यले जानकारी दिनुभयो । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाण्डौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।