अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा १० दिने अल्पकालिन “उपसम्पदा भिक्षु”को दीक्षा

बुटवल, फागुन २९ गते विहिवार ।
अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरको उपाध्यायात्वमा बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा फागुन २२ गते विहिवारका दिन १० दिनको अल्पकालिन “उपसम्पदा भिक्षु”को दीक्षा दिइएको छ ।
“अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार” र “बुद्ध विहार, यु.के.”को संयुक्त आयोजनामा बेलायतबाट आउनुभएका ९ जना कुलपुत्रहरुलाई विहारको “सासनविपुल सिमागृह” मा विहारका प्रमुख आनन्द स्थविरको अनुशासन अभिभारमा १३ जना कम्मकारक (कम्मवाचक) संघ सदस्यहरुको उपस्थितिमा उक्त उपसम्पदाको दीक्षा दिइएको हो ।
उहाँहरुले उपसम्पदा ग्रहण गर्नुअघि अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरको उपाध्यायात्वमा लुम्बिनीको पवित्र उद्यानमा श्रामणेर प्रव्रज्या ग्रहण गर्नुभएको थियो ।
उपसम्पदा दीक्षा लिएका कुलपुत्रहरु बेलायतबाट धम्मयात्राका क्रममा नेपाल आउनु भएको जानकारी भिक्षु आनन्द स्थविरले दिनुभएको छ । उहाँहरुले १० दिनसम्म भिक्षुको २२७ वटा विनय नियम पालना गरीरहनु भएका छन् भने उहाँहरुलाई यस अवधिभर विनय, परियत्ति, ध्यान भावना सम्बन्धि शिक्षा दिई ध्यान भावनाको अभ्यास पनि गराइरहेको उहाँले बताउनुभएको छ ।
सोहि क्रममा उहाँहरु भगवान बुद्धको जन्मभूमि लुम्बिनीको पवित्र उद्यानमा ४ दिने “चौथो लुम्बिनी अन्तर्राष्ट्रिय तिपिटक पाठ” मा पनि सहभागी भएका छन ।