भक्तपुर, फागुन २८
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका युवक निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।
बादललाई भक्तपुर जिल्ला अदालतका न्यायाधिश दिलिपराज पन्तको इजलासले गत फागुन २६ गते सोमवार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
गत फागुन ५ गते निरज आफ्ना साथी बादलको घरमा गएका थिए । खाना खाएर त्यही सुतेका निरज भोलीपल्ट फागुन ६ गते दिउँसो ३ बजेसम्म नउठेपछि बादल बोलाउन जाँदा निरज अचेत अवस्थामा फेला परेको थियो । सो घटनामा प्रहरीले अनुसन्धानका लागि बादललाई नियन्त्रणमा लिएको थियो ।
मृतक निरजका परिवारले पनि बादल विरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले बादललाई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाएको थियो ।