भक्तपुर नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो

भक्तपुर, फागुन २७
भक्तपुर जिल्लाव्यापी १३ औँ राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्य सहीत ९४ पदक जित्दै १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
भक्तपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको यो लगातार तेस्रो पटक हो । भक्तपुर नगरपालिकाले यसअघि २०७९ मा सम्पन्न ११ औं र २०८० मा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो ।
राष्ट्रपति रनिङ शिल्डको नियम अनुसार भक्तपुर नगरपालिकाले अब शिल्ड फिर्ता गर्नुपर्ने छैन् भने आयोजकले अर्को वर्षको लागि नयाँ रनिङ शिल्डको व्यवस्था गर्नुपर्ने भएको छ ।
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका १५ स्वर्ण, १९ रजत र ३० कास्य सहित ६८ पदक जित्दै दोस्रो हुन सफल भयो । त्यसैगरी चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ तेस्रो स्थान हासिल गरे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, भलिवल, कवड्डी, उसु, तेक्वान्डो र एथलेटिक्स गरी ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो ।
भक्तपुर नगरपालिकाले उसु खेलमा ५ स्वर्ण, ६ कास्य र १० कास्य जितेको हो । त्यसैगरी भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो । एथ्लेटिक्समा भक्तपुर नगरपालिकाले १३ स्वर्ण, ६ रजत र ८ कास्य जित्न सफल भएको थियो ।
त्यसैगरी तेक्वान्डो खेलमा १० स्वर्ण, ४ रजत र ११ कास्य, कबड्डीको महिला र पुरुष दुवै खेलको स्वर्ण, १ रजत र ३ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो । प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपाडम्फोमा भएको कराँते खेलमा ५ स्वर्ण, २ रजत र ६ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाले उसुमा २ स्वर्ण, २ रजत, २ कास्य, भलिबलमा २ रजत, २ कास्य, तेक्वान्दोमा एक स्वर्ण ४ रजत, ७ कास्य, एथलेटिक्समा ९ स्वर्ण, ७ रजत, ८ कास्य, कबड्डीमा एक रजत, एक कास्य र कराँतेमा ३ स्वर्ण, ३ रजत र १० कास्य पदक जितेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा तेस्रो हुन सफल चाँगुनारायण नगरपालिकाले उसुमा ५ स्वर्ण, ४ रजत, ३ कास्य, तेक्वान्दोमा एक स्वर्ण, ४ रजत, ६ कास्य, एथलेटिक्समा २ स्वर्ण १० रजत, ६ कास्य र कराँतेमा ४ स्वर्ण, ७ रजत, ३ कास्य पदक जितेको थापाले बताउनुभयो ।