भक्तपुर, फागुन २७
भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आर्मी व्यारेक नजिकको ओरोलोमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहान ५ः३० बजे बाटोको किनारमा लडेर अचेत अवस्थामा युवक फेला परेको थियो । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृत्यु भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि तत्काल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताउनुभयो । मृतकको शव परीक्षणको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाएको छ ।
मृतकको परिचय खुल्न सकेको छैन । प्रहरीले सामाजिक सञ्जालमार्फत मृतकको हुलिया सार्वजनिक गरेपछि मृतक आफन्त भएको दावी गर्दै केही व्यक्ति प्रहरी वृत्त थिमिको सम्पर्कमा आएको प्रनाउ केसीले बताउनुभयो ।
“केही व्यक्ति मृतकको आफन्त भएको दावी गर्दै सम्पर्कमा आएका छन । बुधवार शिक्षण अस्पतालमा पठाएर मृतको सनाखत गराईनेछ,” उहाँले भन्नुभयो ।
यसैगरी मंगलवार नै मध्यपुर थिमि–८, बोदेस्थित वृद्धाश्रम नजिकको खाली जग्गामा एक बृद्ध मृत अवस्थामा फेला परेको छ । नविन लोक्चन नाम बताउने उनको सनाखत हुन सकेको छैन । प्रहरीले उनको पनि हुलिया सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीले शव परीक्षणको लागि काठमाण्डौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाईएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताउनुभयो ।