भक्तपुर, फागुन २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थापना भएको २७ वर्षपछि आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । स्थापनाकालदेखी वडा नं. ६ स्थित पुरानो स्वास्थ्य चौकी भवनबाट सेवा सञ्चालन गरिरहेको मध्यपुर थिमि नगरपालिकाले वडा नंं ५ स्थित जल्खुमा नयाँ भवन निर्माण गर्न लागेको हो ।
नगरपालिकाको प्रस्तावित नयाँ प्रशासनिक भवनको कुल लागत करिव ५९ करोड १६ लाखको रहेको छ । नयाँ प्रशासनिक भवन निर्माणका लागि सोमवार बोलपत्र आह्वान गरेको छ । बोलपत्रकमा कम कबोल गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिइने भएकाले भवनको लागत घट्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
करिव ३ रोपनी १३ आना क्षेत्रफलको जग्गामा निर्माण हुने नयाँ प्रशासनिक भवन परम्परागत र मौलिक शैलीको सुविधा सम्पन्न हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
भवन वेसमेन्टसहित ८ तलाको हुनेछ । ९५० वर्ग मिटरको वेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ । भवनमा अत्याधुनिक सुविधा सम्पन्न करिव ५५ जनाको क्षमता भएको कार्यपालिका बैठक कक्ष, १५० जनाको क्षमता भएको मल्ती प्रपोज सभाहल, न्यायपालिकाको इजलाश, मेलमिलाप केन्द्र कक्ष, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाको विभिन्न विषयगत महाशाखा, शाखा, स्टोरलगायतको छुट्टाछुट्टै कक्ष हुनेछ ।
अपाङ्गतामैत्री भवनमा दुई वटा लिफ्ट हुनेछ । भवनको बाहिरी भागमा परम्परागत र मौलिक शैली झल्काउन डाँची अप्पा प्रयोग गरिनेछ भने काठका १५ वटा भन्दा बढी सँझ्या हुनेछ, जसले भवनलाई आकर्षक बनाउने नगर प्रमुख श्रेष्ठले दावी गर्नुभयो । नयाँ भवनमा यथेस्त खुल्ला क्षेत्र र आकर्षक उद्यान पनि नगरपालिका ई. कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
हाल नगरपालिकाले पुरानो र साँघुरो भवनका साथै अन्य दुई वटा भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । प्रशासनिक भवन नहुँदा सेवाग्राहीलाई विभिन्न सेवा लिनको लागि अलग अलग भवनमा जानुपर्ने समस्या रहेको र नगरपालिकाको आन्तरिक कार्यसम्पादनमा समेत सकस पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
जग्गा नहुँदा भवन निर्माणमा केही समय लागेको जानकारी दिँदैं उहाँले भवन निर्माणका लागि आवश्यक जग्गा खरीद गरेको बताउनुभयो ।
यसअघिको समाचारमा भवनको अनुमानित लागत भुलवश ३५ करोड हुन गएकोमा सच्याईएको छ । सं.