भक्तपुर, फागुन २६
आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवारी राती सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो । भारतले च्याम्पियनसिप जितेको यो तेस्रो अवसर हो । यो सँगै भारत च्याम्पियनसिप सर्वाधिक तीन पटक जित्ने पहिलो राष्ट्र बनेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । २५२ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दै उपाधि जितेको हो ।
यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो । यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए । त्यसपछि भारतले सन् २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो । २००२ को विजेता न्युजिल्याण्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन् ।
दुबई इन्टरनेशनल स्टेडियममा भारतले उत्कृष्ट सुरुवात गर्यो । कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गरे । यी दुईले पहिलो विकेटको लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्याण्डका बलरलाई दबाब दिए ।
यो क्रममा रोहितले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा महत्वपुर्ण अर्धशतक प्रहार गरे । मिचेल स्यान्टनरको बलमा ३१ रन बनाएका शुभमन पहिलो विकेटको रूपमा आउट भए । लगतै भरपर्दा अनि अनुभवी खेलाडी विराट कोहली सामना गरेको दोस्रो बलमा मात्र १ रन जोडेर आउट भए । उनलाई ब्रेसवेलले एलबीडब्लु धरापमा पारे ।
क्रिजमा जमेका रोहितलाई राचिन रविन्द्रले पविलियनको बाटो देखाइदिए । ८३ बल खेल्दै ७ चौका र ३ छक्का सहित उनले ७६ रन जोडे । यसपछि तेस्रो विकेटको नोक्सानीमा भारतले १ सय २२ रन बनाएको थियो ।
त्यसपछि श्रेयस अयर र अक्सर पटेलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे । श्रेयस अर्धशतकबाट २ रनले चुके। ४८ रनमा आउट भए । अक्सर पटेल २९ रन जोडेर पविलियन फर्के । केएल राहुल र हार्दिक पाण्ड्याले भारतलाई जिततर्फ डोर्याए । यो क्रममा १८ रनमा केयल जमयामीसनद्वारा कट एण्ड बोल्ड भए । केएल अविजित ३४ रनमा रहँदै भारतलाई जित दुलाउन सफल रहे ।
न्य्रजिल्याण्डका मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २÷२ विकेट लिए ।
ब्याटिङतर्फ मध्यम सुरुआत गरेको न्युजिल्याण्डका लागि रचिन रवीन्द्र र विल योङले ५७ रनको ओपनिङ साझेदारी गरे । वरुण चक्रवर्तीले यो साझेदारी तोडे । विल योङ १५ रनमा एलबीडब्ल्यू भए । रचिनले भने जीवनदान पाएका थि । रचिन ३० रनमा खेलिरहेको अवस्थामा वरुणको बलमा श्रेयस ऐअरले क्याच ड्रप गरेपछि उनले जीवनदान पाएका थिए । तर कुलदीप यादवले क्याच ड्रपलाई महँगो साबित हुन दिएनन् । उनले रचिनलाई ३७ रनमा क्लिन बोल्ड गरे। ।
केन विलियम्सन पनि ११ रनमा पभेलियन फर्किए । उनको विकेट कुलदीपले नै लिएका हुन् । चौथो नम्बरका ड्यारिल मिचेलले लामो इनिङ्स खेलेर ६३ रन जोडे । तीन चौका समेत प्रहार गरेका उनले १०१ बलको सामना गरे । टम लेथमले १४ तथा ग्लेन फिलिप्सले ३४ रनको योगदान गरेसँगै न्युजिल्यान्ड सम्हालिएको थियो । अन्तिममा मिचेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेर न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएका थिए । त्यसक्रममा अविजित रहँदै मिचेलले तीन चौका र दुई छक्का प्रहार गरे। ।
किफायती बलिङ गरेको भारतका लागि वरुणले दुई विकेट लिए भने कुलदीपको नाममा पनि दुई विकेट रह्यो ।