गोकर्णेश्वर बुद्धिचालमा पुरुषोत्तम च्याम्पियन

भक्तपुर, फागुन १९
माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा फाल्गुण १४ देखि शुरु भएको गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम सिलवालले जितेको छ ।
गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको चेस प्रतिस्पर्धामा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तमले अपराजित रहँदै उपाधि उचालेका हुन । पुरुषोत्तमले ९ चरणको क्लासिकल खेलबाट ७ जीत २ बराबरी नतिजा निकाल्दै एकल ८ अंक जोडेर च्याम्पियन भएको हो ।
गत महिना सम्पन्न २५ औं राष्ट्रिय खेल मार्फत नेपाल दोश्रो भएका १९३७ रेटेड पुरुषोत्तमले अन्तिम तिन चरणको खेलमा भारतीय खेलाडी माथि हावी हुँदै प्रथम स्थान प्राप्त गरेको हो ।
१९ वर्षीय युवा पुरुषोत्तमले २१५८ रेटिङ पर्फोम गर्दै उपाधि जित्ने क्रममा आफ्नो ब्यक्तिगत ८८ फिडे रेटिङ्ग समेत बढाउन सफल भएको छ । उनले नगद ५१ हजार रुपैंया सहित गोल्डमेडल र आकर्षक ट्रफी हात पारे ।
प्रतियोगितामा २०७० रेटेड खेलाडी एफएम क्षितिज भण्डारीले ७ अंक प्रोग्रेसिभ ४८ प्वाइन्टका आधारमा दोश्रो भएका छन । उनले नगद २५ हजार र शिल्भर मेडल प्राप्त गरे ।


यस्तै भारतका १७१८ रेटेड खेलाडी मज इकबाल समान ७ अंकमा प्रोग्रेसिभ ४७ प्वाइन्ट जोडेर तेस्रो भए । उनले नगद १६ हजार र ब्रञ्ज मेडल प्राप्त गरे । नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो हुँदै नगद ८ हजार जिते ।
समान ७ अंकमा १८७३ रेटेड राजन पुरीले पाँचौ हुँदै नगद ६ हजार पाए भने भारतका १८७१ रेटेड आशुतोष कुमारले ६.५ अंक प्रोग्रेसिभ ४६.५ प्वाइन्टमा छैटौं हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी सातौं स्थान देखि बाह्रौ स्थानमा रही जनही नगद ४–४ हजार प्राप्त गर्ने खेलाडी क्रमशः भारतका आभाष कुमार श्रीवास्तव, नेपालका कृष्ण थापा, भारतका अर्मान सिद्धिकि, प्रखर त्रिपाठी, सुरोज महर्जन र आशिष् फूँयाल रहेका छन् ।
प्रतियोगिता अन्तर्गत विधागत पहिलो र दोश्रो पुरस्कार प्राप्त गर्ने उत्कृष्ट महिलामा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी र भारतका प्रकाश वैष्णवी, उत्कृष्ट सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, स्थानीय सुमन मोक्तान, उत्कृष्ट अनरेटेड प्रयास कोइराला र अंकित पौडेल, ईलो १८ सय मुनि सुशील सुवेदी र कविन्द्र सिवाकोटी रहेका छन् ।
यसरी नै ईलो १६ सय मुनि भारतका साहिद हुसेन र कविर केसि, उत्कृष्ट विद्यार्थी आदित्य गजुरेल, अग्रिम शैंजु र आयुष भण्डारी, उत्कृष्ट स्थानीय विद्यार्थीमा ससरज राउत, प्रिसियस् अधिकार र संस्कृति गवुरुल, उत्कृष्ट युवा १२ बर्षमा हार्दिक पन्त, रिजोन केसि र अग्रता आचार्य रहेका छन् ।
यसैबीच क्लबका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । कार्यक्रममा मेयर रिसालले बौद्धिक बुद्धिचाल खेल सबै उमेरकालाई उपयुक्त हुने भएकोले नगरपालिका यसको प्रायोजक बनिरहने प्रतिवद्धता जनाए ।