धर्म संस्कृतिसँग जोडिएका भक्तपुरका महत्वपुर्ण पुखुःहरु

लक्ष्मी गारु, भक्तपुर, फागुन १६
भक्तपुर नगरपालिका वडा नं ५ को चुपिंघाटस्थित काँल्हाचा पुखःु (पोखरी)मा नुहाए घाउ खटिरा निको हुने जनविश्वास छ । स्थानीय ७४ वर्षिय बुद्धिलाल सुवालका अनुसार घरघरमा धारा नभएको समयमा गाहिटी, तमारी, खँला र आर्दशका स्थानीयहरु काँल्हाचा पुखुःमा स्नान गर्ने, मुख धुने, तपर्ण दिने, देवीदेवतालाई जल चढाई चम्पकेश्वर महादेवको दर्शन गर्ने गर्दछ ।
भक्तपुर औद्योगिक क्षेत्रको दक्षिणतर्फ इन्द्रायणी पिठ नजिक रहेको प्राचिन धल्चा पुखुः(कालदह पोखरी)मा स्नान गर्नाले गोसाईकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । गोसाईकुण्डको प्रतिक मानिने धल्चा पुखुःमा स्नान गरी त्यहाँको महादेवलाई जल चढाउनाले शिर कम्पन हुने र छाला सम्बन्धी रोगको निवारण हुने धार्मिक मान्यता रहेको स्थानीय लक्ष्मी नारायण पक्काले बताउनुभयो । यहाँ जनै पूर्णिमाको दिन ठुलो मेला लाग्छ ।
यसैगरी भक्तपुरको ख्वप लाय्कू दरबार (दरवार स्क्वायर) भित्र रहेको दुमाज पुखुःमा आईतबार र बिहिबार बच्चाहरुलाई नुहाई दिए, मुख धुवाई दिएमा रुन्चे लागेको, पेट दुःखेको निको हुने धार्मिक विश्वास छ । यो पुखुःको पानीले दुमाजु परिसर सरसफाईका लागि दैनिक प्रयोग गर्ने परम्परा छ ।
पुखुःहरुको शहर भनेर परिचित भक्तपुर नगरका काँल्हाचा पुखुः, धल्चा पुखुः र दुमाजु पुखुः मात्र होइन अधिकांश पुखुःहरु कुनै न कुनै धार्मिक एवम् साँस्कृतिक एवम् रोगको उपचारसँग सम्बन्धीत रहेको छ । त्यसकारण नगरका चार दर्जन पुखुः मध्ये करिब दुई दर्जन पुखुः धार्मिक तथा साँस्कृतिक रुपमा अत्यन्त महत्वपुर्ण मानिएको छ ।
भक्तपुरमा धार्मिक तथा साँस्कृतिक आस्था रहेका, ईतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा एवम् सुन्दरता बढाउन, कमलको फुल उत्पादन, मानविय जीवनमा कठिन समयमा मनलाई शान्ति पार्नुका साथै विपद् लगायतका समयमा आकस्मिक प्रयोगका लागि विभिन्न कालखण्डमा निर्मित अति सुन्दर मनोमोहक पुखुःहरु छन ।


धार्मिक तथा साँस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुरमा पुखुःहरु निर्माण गरेको पुरातत्वविद, ईतिहास तथा सँस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । विषेशगरी टाढा टाढाका तीर्थ यात्रामा गई स्नान गर्न जान नसक्ने असहाय अशक्तलाई आफ्नै ठाउँमा स्नान गराई दर्शन पुजन गर्न सजिलो लागि बनाएको उहाँले बताउनुभयो ।
यस्तै पुखुःहरु मध्ये एक हो भक्तपुर नगरपालिका–१, दुधपाटीमा अवस्थित सिद्ध पोखरी । स्थानीयमा तः पुखुःले समेत परिचित सिद्धपोखरी दिउँसो आन्तरिक र बाह्य पर्यटकको आकर्षण गन्तव्यको रुपमा विकास भएपनि बिहान स्थानीय बासिन्दाहरुको धार्मिक तिर्थस्थलको रुपमा रहेको छ । स्थानीय बृद्धबृद्धा बिहानै पोखरीमा आई मुख धुने र पोखरीको जल त्यहाँको महादेवलगयात देवीदेवतालाई चढाई दर्शन गर्ने परम्परा आज पर्यन्त जिवित रहेको स्थानीय ६५ वर्षिय विष्णुप्रसाद खत्रीले बताउनुभयो ।
सिद्धपोखरी धार्मिक तथा साँस्कृतिक महत्वले मात्र नभई ईतिहास बोकेको लौकिक वास्तुकलाको अनुपम उदाहरण बोकेको पुखुःको रुपमा परिचित छ । यो पुखुःको पुर्वपट्टि नेपालको सर्ब प्राचिन बराह र गणेशको मुर्ति रहेको छ । धार्मिक समन्वय र सदभावको अनुपम उदाहरण स्वरुप शिव लिङ्ग र चैत्य त्यही छ । चैत्य लिच्छवीकालिन मानिएको छ ।
प्रा.डा श्रेष्ठका अनुसार वास्तुतन्त्र विधि अनुरुप सिद्ध तान्त्रिक युगमा निर्माण गरेको विशाल पुखुः भएकाले यसलाई सिद्ध पुखुः भनि नामाकरण गरिएको हो । नेपाल सम्वत २३८ तिर भक्तपुरलाई राजधानी नगरको रुपमा स्थापित गर्ने त्रिपुर राजदरबार राजधानीकै मध्यभागमा बनाउने, नगरलाई अनुपम कलाकृतिले सजाउने कार्य राजा आनन्ददेवको पालामा भएको थियो । सिद्धपोखरी त्यो भन्दा केही समय पुर्व आनन्ददेवको दाजु युवराज ईन्द्रदेवले निर्माण गर्न लगाएको ईतिहासमा उल्लेख छ ।


लोकमान्यता अनुसार देवराज ईन्द्रले स्नान गरेको दहको प्रतिकको रुपमा लिने भएकाले यस दहलाई ईन्द्रदह पनि भन्ने गरिएको पाइन्छ । ईन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुःखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
ईन्द्रजात्रामा यँेन्याँ पुन्हीको पुर्व सन्ध्यामा ईन्द्रायणी देवीको खटजात्रा गरी ईन्द्रदहको पश्चिम तिर देवीलाई विरामान गर्ने परम्परा छ । भोलीपल्ट पुन्हीको दिन दहमा स्नान गरी ईन्द्रायणी देवीको पुजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । ईन्द्रदहमा वासुकी नागको समेत बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले पानी नपरेर रोपाई ढिला भएको बेला भक्तपुरका स्थानीय बासिन्दा ईन्द्रदहमा गई तान्त्रिक विधिद्धारा वासुकी नागको पुजा गरी हरहर महादेव पानी दे, अलिकति होइन धेरै दे भनेर पानी माग्ने प्रचलन छ ।
भक्तपुरमा ईन्द्रजात्रामा निकाल्ने तीन दिने याँ मता(आकाश दिप) नगर परिक्रमा पछि पुखुःहरुमा परिक्रमा गराई जात्रा सम्पन्न गर्ने चलन अहिलेसम्म छ । पहिलो दिनको याँःमता कमलविनायकको यातु बहारे(कमलपोखरी)मा परिक्रमा गरी सम्पन्न गर्छ । दोस्रो दिनको याँःमता झौखेलको मुगथौ पुखुःमा परिक्रमा गरी सम्पन्न गर्छ । तस्रो दिनको याँःमता सिद्धपोखरीमा परिक्रमा गराई सम्पन्न गर्छ ।
त्यसैगरी हरेक वर्ष माघ १ गते भक्तपुरमा मनाईने सम्यक महादानमा द्धिपंकर बुद्धलाई चढाउने तिलभात इताछेंस्थित नःपुखुको पानीले पकाउने चलन छ । नःपुखुः परिसरमा नै सम्यक महादान पर्व मनाईन्छ ।
भक्तपुरमा मानव निर्मित विभिन्न सुन्दर पोखरीहरु मध्ये भाज्या पुखुःअति महत्वपुर्ण सुन्दर पुखुः हो । पुखुःको मध्य भागमा शिखर शैलीमा निर्माण गरिएको सुन्दर जलेश्वरको मन्दिर छ । यो पुखुः १२ औं शताब्दीको शक्तिशाली शासक वर्ग भाजु कसःको नाममा निर्माण गरेकाले यसलाई भाज्या पुखुः भनिएको प्रा.डा श्रेष्ठले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित रानी पुखुः, कमलविनाय.स्थित यातु बहारे पुखुः, सिद्ध पुखुः, भाज्या पुखुःलगायतका पुखुःहरुको डिल वा परिसरमा भक्तपुरका स्थानीय नेवार समूदायको कुलदेवता स्थापित छन । वर्षको एक दिन दिगु पुजा÷देवाली पुजा (कुल पुजा)मा ती पोखरीहरुको डिलमा कुल पुजा गरी भोज गर्ने परम्परा आज पनि जिवित रहेको छ ।
पुखुः छेउमा कुल देवता स्थापित गर्नुको मुख्य उद्देश्य पुखुःमा रहेको पवित्र जलले कुलदेवताको स्नान गराई दर्शन पुजन गर्नु हो । पुखुःहरुको छेउमा कुलदेवता स्थापित गर्नुको अर्को कारण वर्षको एक पटक भएपनि शहरी सिमाना सुरक्षा के कस्तो छ हेरी देश रक्षाको भावना जगाउनु रहेको श्रेष्ठले बताउनुभयो ।
प्राचिनकालदेखिका पुखुःहरु जनतालाई धार्मिक, साँस्कृति रुपमा मात्र नभएर मानसिक रुपमा पनि शान्ति, आनन्द प्रदान गर्न बनाएको हो । पर्यावरणले मानिसहरुमा कति रोगको निवारण गर्छ भन्ने भक्तपुरको पुखुःहरुले देखाएको छ । त्यसका साथै मानविय जीवनमा कठिन परिस्थिति अनावृष्टि, अनिकाल जस्तो समयमा पानीको प्रयोग गर्न पाओस भनी प्राकृतिक रुपमा जल भण्डारणको रुपमा पनि पुखुःहरु बनाएको हो । जसले गर्दा सिँचाई लगायत आगलागी जस्ता विपदको समयमा आकस्मिक रुपमा ती पुखुःहरुको पानी प्रयोग हुँदैं आएका छन ।


भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आन्नददेवले वास्तुमय बनाउने क्रममा विभिन्न पुखुःहरु निर्माण गरेका थिए । यससँगै मल्लकालमा पनि धेरै पुखुःहरु बनेको ईतिहासमा उल्लेख छ । परापुर्वकालदेखि नगरभित्रका पुखुःहरुमा स्थानीय टोलका समुदायहरु बिहान नित्य स्नान गर्ने, मुख धुने, देवीदेवताको लागि पवित्र जल चढाउने, मृतकलाई तपर्ण दिने, लुगा धुने जस्ता कार्यमा प्रयोग हुँदै आएको देखिन्छ । धर्म संस्कृतिले धनी भक्तपुरमा कति जात्रा पर्वका लागि नभई नहुने कमलको फुलको लागि समेत पुखुः बनाएको छ । नगरमा कमलविनायकको बाहारे पुखुः, तलेजु भवानीको पुजाको लागि ब्यासीस्थित नार्का बाहारे पुखःु, पलेश्वाँ बाहारे, याताको बाहारे पुखुःहरु कमलको फुलकै लागि निर्माण गरेको इतिहासमा उल्लेख छ ।
पानी जीवन भएकाले मानिसको दैनिकीसँग जोडेर नगरको प्रत्येक टोल टोलमा नुहाउन, लुगाकपडा धुन, तरकारी पखाल्न, गाईवस्तुलाई खुवाउन, हातखुट्टा धुन, भाँडा माझ्न, कृषि कर्म गरी घर फर्कने क्रममा औजार धुने कार्यमा पनि पुखुःको उपयोग हुँदैं आएको पाईन्छ । त्यसैगरी माछा पालन गरेर आर्थिक रुपमा सबल बन्नुका साथै बाह्य तथा आन्तरिक पर्यटकको गन्तब्यस्थलको रुपमा विकास गर्न पुखुः बनाएको हो ।
भक्तपुरका पुखुःहरु धार्मिक, साँस्कृतिक र रोग निवारणसँग मात्र जोडिएका छैन । यहाँको पुखुः तत्कालिन समयको विज्ञान प्रविधि र ईञ्जिनियरिङको अनुपम सिपको नमूना पनि रहेको छ । भक्तपुर नगरपालिका वडा नं ८ को खँचा पुखुःमा करिव एक किलोमिटर पश्चिममा रहेको प्रसिद्ध ङतापोल (पाँच तल्ले) मन्दिरको छायाँ स्पष्ट देखिन्छ । यस्तो ईञ्जिनियरिङ प्रविधि प्रयोग भएको पुखुः वास्तवमै उत्कृष्ट ईञ्जिनियरिङ हो ।
पछिल्लो समय अधिकासं पुखुःहरुले भक्तपुर नगरपालिको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जिवन पाएको छ । सिद्धपोखरी, रानी पोखरी, भाज्या पुखुः, कालदह, दुमाजु पुखुः, मंगल कुण्ड, कुमारी पुखुः, गरुडकुण्ड, सँला गणेश पुखुः, नाग पुखुः, नःपुखु जस्ता अति धार्मिक तथा साँस्कृति महत्व रहेको पुखुःहरुले पुनर्जिवन पाइसकेको छ । नगर भित्रका करिब ५० पुखुःमध्ये गलसी पुखःु, नार्का बाहारे, तिलांचा पुखुः, खोर्चा र खोहरे पुखुः मार्कण्डे पुखुः, अलिगचा पुखुःलगायत करिव एक दर्जन पुखुः भने लोप भइसकेका छन ।