भक्तपुर, फागुन १५
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन शुक्रवारबाट भक्तपुरमा शुरु हुँदैछ । ‘देश र जनताको निस्वार्थ सेवा गरौं, समाजवादी अवधारणालाई व्यवहारमा लागू गरौं’ भन्ने मूल नाराका साथ भक्तपुरको सल्लाघारीमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने नेमकिपाले जनाएको छ ।
महाधिवेशनको उद्घाटन नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नुहुने केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताउनुभयो । महाधिवेशन उद्घाटन अघि उपत्यकाका विभिन्न ५ स्थानबाट सहभागीहरुको ¥याली निस्कने गोसाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान १० बजे भक्तपुरको कमलविनायकको लाँचाफल्चा, चाँगुनारायणको पकुनेपाटी र ताथलीको पैmढोका, सूर्यविनायक चोक, मध्यपुर थिमिको बोदे चारदोबाटो र काठमाण्डौंको कोटेश्वरबाट ¥याली सुरु भई महाधिवेशन उद्घाटन स्थल सल्लाघारी जाने छ ।
महाधिवेशनले नेमकिपाको नयाँ नेतृत्व चयन समेत गर्नेछ । वि. सं. २०३१ साल माघ १० गते विधिवत स्थापना भएको नेमकिपाको नेतृत्व अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्दै आइरहनुभएको छ । करिव ५ दशक नेमकिपाको नेतृत्व गर्नुभएका बिजुक्छेंको उमेर हाल साढे आठ दशक पुगी सकेको छ ।
पार्टीको आठौं महाधिवेशनको पूर्वसन्ध्यामा नेमकिपाको नेतृत्व परिवर्तन हुन्छ की पुनः बिजुक्छेंले नै बागडोर सम्हाल्छन भन्नेमा आमचासो बढेको छ । त्यसो त नेमकिपा यस्तो विषयमा खुलेर कुरा गर्न चाहँदैन । निर्वाचनको उम्मेदवारका विषयमा होस या पार्टीको नेतृत्व, पदाधिकारी र सदस्य चयन होस अन्तिम समयमा मात्र घोषणा गर्ने नेमकिपाको परम्परा रहेको छ ।
संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भए पश्चात सम्पन्न २०७४ को पहिलो आम निर्वाचनमा आफुले जित्दै आइरहेको भक्तपुर क्षेत्र नं. १ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएका बिजुक्छेंले संसदिय राजनीतिबाट विश्राम लिनुभएको थियो ।
वि. सं. २०३१ साल स्थापना भएको नेमकिपाको पहिलो महाधिवेशन प्रजातन्त्र प्राप्ती पछि २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा भएको थियो । वि. सं. २०५१ असोज ३ र ४ गते भक्तपुरमा दोस्रो सम्मेलन भएको नेमकिपाको तेस्रो सम्मेलन भक्तपुरमा २०५५ माघ १२, १४ र १५, चौथो महाधिवशेन २०६० भदौ ११, १२ र १३ भक्तपुर, पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाण्डौं, छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाण्डौं र सातौ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।