नाम दर्तासँगै “५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” शुरु

ललितपुर, फागुन १४ गते ।
‘५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम’ कोे पहिलो दिन आज अक्षेश्वर महाविहार पुल्चोकमा अल्पकालिन श्रामणेर बन्न चाहने धम्मदायद (उपासक) हरुले प्रव्रज्यामा सहभागी हुन नाम दर्ता गराएका छन् । “अखिल नेपाल भिक्षु महासंघ”“थाईधर्मदूत ईन्डिया नेपाल” को संयुक्त आयोजना तथा “प्रव्रज्या सामाजिक नेपाल” को व्यवस्थापनमा बुद्ध जन्मभूमि लुम्बिनीमा फागुन १४ गतेदेखि चैत ३ गतेसम्म हुने उक्त कार्यक्रमका लागि नाम दर्ता गर्नुका साथै उहाँहरुको स्वास्थ्य जाँच तथा प्रव्रज्या अवधिभर आवश्यक सामाग्रीहरु उहाँहरुलाई वितरण गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघका प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले नेपालका जुनसुकै धर्म, सम्प्रदाय, वर्ण र जातिका भएपनि स्वस्थ पुरुष यस श्रामणेर प्रव्रज्यामा सहभागी हुन सक्ने बताउनुभयो ।
प्रव्रज्यामा सहभागी हुन आएका धम्मदायादहरुको स्वास्थ्य जाँच गरीरहनुभएका स्वास्थ्यकर्मी डा. बिनोदलाल बज्राचार्यले धम्मदायादहरुमा खासै स्वास्थ्य समस्याहरु नदेखिएको बताउनुभयो ।
प्रव्रजित जीवन नै सारपूर्ण जीवन भएको महसुस भएकाले सन् २०११ को पहिलो प्रव्रज्या कार्यक्रमदेखि नै भाग लिँदै आइरहेको मध्यपुर थिमि नगरपालिको वडा नं ७ नगदेशका वडा अध्यक्ष कुष्ण कुमार प्रजापतिले भन्नुभयो । काठमाण्डौ, ललितपुर, मध्यपुर, भक्तपुर, मकवानपुर, झापा, दैलेख लगायतका स्थानहरुबाट कार्यक्रममा सहभागी हुन आउनेहरु धम्मदायादहरुले नाम दर्ता गराएका छन् ।
आज नामदर्ताबाट शुरु भएको ५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम भोलि फागुन १५ गते अक्षेश्वर महाविहार, पुल्चोकमा दिउँसो १ बजे केश छेदन कार्यक्रम हुनेछ । फागुन १६ गते नागबहालमा चीवरदानपछि त्यहाँबाट मंगलबजार पाटन दरवारस्क्वायर हुँदै नगरपरिक्रमा गरी पुल्चोकसम्म पुगी त्यहींबाट लुम्बिनी प्रस्थान गरीने जानकारी आयोजकले दिएको छ ।
त्यस्तै २० गते लुम्बिनीको पवित्र मायादेवी परिसरमा अल्पकालिन दुर्लभ श्रामणेर प्रव्रज्या, २२ गते भिक्षाटन, २४ गते दीप प्रज्वलन, चैत २ गते रामग्राम, देवदह तथा भैरहवाको लुम्बिनी गेटमा धम्मयात्रा, ३ गते सहभागीहरुलाई प्रमाणपत्र वितरण तथा ४ र ५ गते गृहनगरमा भिक्षाटनको कार्यक्रम रहेको जानकारी पनि आयोजकले दिएको छ ।