भक्तपुर, फागुन १४
फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रीको अवसरमा आज (बुधवार) बिहानै देखी भक्तपुरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । महाशिवरात्रीको दिन सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने भएकोले भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव (सिपारे महादेव), कमलविनायकस्थित यातु महादेव, भक्तपुर नगरस्थित गुरु दत्तात्रय, सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित अनन्तलिङ्गेश्वर, वडा नं. ५ स्थित सुवर्णेश्वर, वडा नं. १० चित्तपोलस्थित अग्लो शिवमन्दिर, चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ज्योतिर्लिङ्गेश्वरलगायतका शिवालयमा भक्तजनको भिड लागेको हो ।
सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेवमा महाशिवरात्रीको अवसरमा मन्दिरका चारवटै ढोका खुल्ला गरी भक्तजनले मन्दिरभित्र पुसी मूल शिला छोएर पुजा गर्न सकिने व्यवस्था गरिएको छ ।
डोलेश्वरलाई भारतको उत्तराखण्डस्थित केदारनाथको शिर भाग घोषणा गरेपछि यहाँ स्वदेशी तथा विदेशी भक्तजनको दैनिक घुईंचो लाग्दै आएको छ । महाशिवरात्रीमा यहाँ भारतका विभिन्न भागबाट नागाबाबासहितका साधुसन्त आउने गरेका छन ।
यसवर्ष डोलेश्वरमा मंगलवार साँझसम्म १६० जना नागाबाबा एवम् साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण एवम् विकास समितिका महासचिव हरीशरण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको महाकुम्भ मेलाका कारण यसवर्ष साधुसन्त आगमनमा केही कमी आएपनि बुधवार बिहानसम्म २ सय पुग्ने अनुमान गरिएको छ ।
भारतबाट आएका नागाबाबा, साधुसन्त तथा जोगीका लागि समितिले निःशुल्क भोजन र धुनी बाल्नको लागि आवश्यक दाउरा प्रदान गर्दै आइरहेको बस्नेतले बताउनुभयो । उनीहरूलाई दक्षिणा भेटीसहित बिदाइ गर्ने गरेको छ ।
भक्तजनको भिड व्यवस्थापनको लागि नेपाल स्काउट र स्थानीय स्वयम् सेवक परिचालन गरिएको छ । लाइनमा बसेर दर्शन गर्न असमर्थलाई मन्दिरको पुर्वी ढोकाबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । साथै पञ्चामृत पुजाको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वरमा भक्तजनका लागि निःशुल्क प्रसादी एवम् भोजनको व्यवस्था गरिएको छ भने खानेपानी निःशुल्क वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले रक्तदान, मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।